आजकाल रिदम नेपालको प्रस्तुती सिङ्गिङ आइकनको अडिसनको लागि नेपाल टुरमा छु । यसमा मैले निर्णायकको भूमिका निभाएको छु । अहिलेसम्म इलाम, दमक, धरान, हेटौंडा, नारायणघाट हुँदै बुटवल आइसकेका छौं । अहिले सम्ममा करिव एक सयको हाराहारीमा प्रतिस्पर्धीहरु छानिएका छन् । यो बेला मैलै फुल्ल टाइम यसै अडिसनलाई नै दिएको छु ।
बिहान सात बजेसम्ममा उठिसकेको हुन्छु । हतार हतारमा बाथरुम जान्छु र हतारमै मेकअप गरी हल्का व्रेक फास्ट लिएपछि आठ बजेसम्म अडिसनको लागि हलमा पुगिसकको हुन्छु । हलमा सिङ्गिङ आइकनको अडिसन सुरु हुन्छ र त्यसैमा व्यस्त रहन्छु । एघार/बाह्र बजेको समयमा लन्च लिन्छु र फेरी व्यस्त रहन्छु । अडिसनमा साँझ आठ बजेसम्म नै व्यस्त रहन्छु । आठ बजे अडिसन सकिएपछि दिनभरी अडिसनमा भएका सहभागीहरुको कमी कमजोरी औल्याउँछौं र सबैजना आइकन टिम मिटिङ बस्छौं र छलफल गर्छौं । त्यसपछि साँझको डिनर लिएपछि रेस्ट गर्छु ।
अन्य समयमा या काठमाण्डौंमा भएको समयमा भने बिहान ६ बजे उठिसकेको हुन्छु । उठिसकेपछि बाथरुम जान्छु अनि रामदेवको योगा गर्छु । रामदेवको योगा मैले कहिल्यै छुटाउदिन। करिब आधा घण्टा योगा गरेपछि रियाज गर्छु । १५/२० मिनेट रियाज गरिसकेपछि पत्रपत्रिका हेर्छु । बिहानको करिव नौ बजेको समयतिर ब्रेक फास्ट लिन्छु । ब्रेक फास्टमा फ्राई चाउचाउ, रोटी, जुस बढी मन पराउँछु । लन्च बिहान ११ बजेतिर लिन्छु र १२ बजेतिर रेकर्डिङको लागि स्टुडियो तिर लाग्छु ।
कहिलेकाही रेकर्डिङमा १२ बजेभन्दा अगाडि पनि जानुपर्छ त्यो समयमा भने स्टुडियो मै लन्च लिन्छु । करिब दिनभरी नै रेकर्डिङमै व्यस्त रहन्छु । दिउँसोको २/३ बजेको समयतिर व्रेक फास्ट लिन्छु । रेकर्डिङ सकिएपछि ४ देखि ६ बजेको समयलाई एफ एम रेडियो तथा पत्रपत्रिकाहरुको लागि समय छुट्याउँछु । त्यो समयमा नै मैले संचारमाध्यमहरुलाई अन्तर्वार्ता दिन्छु । अनि साँझ घर फर्किएपछि डिनर लिन्छु ।
खानामा म सिम्पल खाना नै मन पराउँछु । मलाई खास गरी गोलभेंडा र टिमुरको अचारसँग निस्तो खाना खान मन पर्छ । गुन्द्रुक र करेलाको तरकारी पनि असाध्यै मन पर्छ । मासुको परिकारमा मलाई सुकुटी र छोइलाका साथै लोकल कुखुराको झोल मन पर्छ । खाना खाइसकेपछि मन लागे टिभी कम्प्यूटर खोलेर बस्छु । कम्प्यूटरमा बस्दा अनलाईनमा आउने न्यूजहरू हेर्छु । देश विदेशको बारेमा बढी खोजी गर्छु । नेटमा अनाश्यक च्याट गर्न मलाई मन पर्दैन । फेसबुकमा मेरो नाममा थुप्रै फेक अकाउण्टहरु खोलिएका छन् त्यसैले फेसबुकबाट सकेसम्म नजिक हुन मन पराउँदिन ।
टीभी कम्प्यूटरमा बसेपछि करिब ९/१० बजेको समयतिर बेडमा पुग्छु । यसरी नै मेरो दिनचर्या बित्छ । यसको साथै हप्तामा एकपटक आफ्नो विजी समयलाई म्यानेज गरेर फुर्सद मिलाइ एक दिन छोरीलाई घुमाउन लैजान्छु । उनी अहिले म संगै छिन् । साथै फुर्सद मिलाएर आफन्त तथा साथीभाईहरूलाई पनि भेट्ने गर्छु ।