निर्देशक ऋषि लामिछानेलाई आफ्नै निर्माताले यसरी धोका देलान् भनेर सोचेका पनि थिएनन् होला । उनले जे सोचेका थिए अहिले त्यो सोचाई ठिक विपरित भएको छ । अझ यसो भनौं निर्देशक लामिछाने अहिले दुई ढुंगा बिचको तरूल भएका छन् ।
कुरा सिधा नै गरौं । निर्देशक ऋषि लामिछानेले दुई निर्माता मुनाल घिमिरे र प्रदिप उदयको फरक फरक चलचित्र निर्देशन गरेको अधिकांशलाई थाहा नै होला । यदि थाहा नभए थाहा पाउनुस् कि ऋषिले मुनाको चलचित्र 'श्रीमान् श्रीमती' निर्देशन गरेका छन् भने उदयको 'हाम्रो माया जुनी जुनीलाई' निर्देशन गरेका छन् । अहिले यि दुबै निर्माता एउटै मितीमा आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा छन् ।
हुनत मुनाल घिमिरेले शुरूमा बैशाखमा आफ्नो चलचित्र प्रदर्शन गर्ने योजना बनाएका थिए तर प्राबिधिक कारणले सो समयमा रिलिज गर्न नसकेपछि उनले भदौ २ गतेलाई डेट फिक्स गरे । यता अर्का निर्माता उदय पनि आफ्नो पछिल्लो चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' लाई भदौ दुई गते नै सार्वजनिक गर्ने तयारी गर्दैछन् । यसरी आफूले निर्देशन गरेका दुई चलचित्र एउटै मितीमा रिलिज हुन लागेको खबर सुनेपछि निर्देशक लामिछानेको रातको निन्द्रा नै हराएको छ । निकै दु:खी मुद्रामा देखिएका लामिछानेले फिल्मीखबरसँग दु:ख साट्दै भने, 'मेरै निर्माताले मलाई डुबाउने भए ।'
ऋषि चाहन्छन् आफ्नो चलचित्रको भिडन्त एउटै मितीमा नहोस् तर निर्माताद्वय भने सो मिती छोड्ने पक्षमा छैनन् । मुनालले प्रदिप उदयले भन्दा अगाडी आफूले डेट फिक्स गरेकाले सो मिती छोड्न नसक्ने बताउँछन् भने यता उदयले भदौ २ गतेका लागी आफूलाई आवश्यक पर्ने हलहरू बुक गरिसकेको बताउँछन् । उदयले यो चलचित्र छिट्टै रिलिज गरेर अर्को चलचित्र मालतीको भट्टी प्रदर्शन गर्ने बताए ।
उखानै छ नि 'भाई फुटे गवाँर लुटे' । यदि यि दुई निर्माता बिच सम्झौता भएन भने उनीहरोलाई त घाटा हुन्छ हुन्छ निर्देशक र सिङ्गो चलचित्र उधोगलाई पनि यसले असर पक्कै पार्नेछ । त्यसैले हामी चाहन्छौं यो चलचित्र प्रदर्शन गर्ने खेलले उग्र रूप नलिओस् । दुई निर्माता बिच समझदारी होस् र दुबै चलचित्र सफल बनोस् । शुभकामना !