सरकार परिवर्तन सँगै नेपाल चलचित्र बिकास बोर्डमा पनि नेतृत्व परिवर्तन हुने परम्पराको निरन्तरता स्वरुप यस पटक पनि सरकार परिवर्तन भए पछि अमर राज गिरीले नेतृत्वबाट राजीनामा दिए । उनले राजिनामा दिएको ३ महिना भै सक्यो बिकास बोर्डको नेतृत्व खाली छ । यो बिचमा सञ्चारमन्त्री पनि फेरीए । नयाँ सरकारमा पहिला कृष्णबहादुर महरा र अहिले अग्नी सापकोटाले सञ्चार मन्त्रालय सम्हालीरहेका छन् । ब्यक्ति जो भए पनि सञ्चार मन्त्रालय माओबादीको पोल्टामा छ । सञ्चार मन्त्रालय अन्र्तगतको बिकास बोर्डमा यिनीहरु कसैले पनि अहिले सम्म नेतृत्वको चयन गर्न सकेका छैनन् ।
माओबादीले सञ्चार मन्त्रालय सम्हाले पछि बोर्डको नेतृत्वमा पनि माओबादी निकटकै चलचित्रकर्मीले नियुक्त हुने पक्का छ । तर पार्टी भित्रै आन्तरीक द्धन्द्धमा फसेको माओबादीले यो नियुक्तिलाई पनि बिना बिबाद साम्य पार्न सकेन । महराले सञ्चार मन्त्रालय सम्हाल्दा नेतृत्वमा कसलाई पठाउने भनेर लगभग पक्का भै सकेको भए पनि उनले सञ्चार मन्त्रालय छोडेर सापकोटाले सम्हाले पछि यो बिषयले अर्कै मोड लिएको थियो । आफु निकटका ब्यक्तिलाई शक्तिमा पुर्याउने होड नै चल्ने गर्दछ यहाँ । यस्तै भयो माओबादी नेतालाई पनि ।
सापकोटाले सञ्चार मन्त्रालय सम्हाल्नु अघि पुर्व अध्यक्ष गणेश भण्डारीलाई अध्यक्ष बनाउने लगभग पक्क भै सकेको थियो माओबादीमा । तर मन्त्री फेरीए पछि ब्यक्तिका नाम पनि फेरीए । युवराज लामा, केपी पाठक देखि गणेश भण्डारी सम्मको नामले चर्चा पायो तर दाबेदारका रुपमा लामा र भण्डारी देखिए । लामाले त मन्त्रीलाई लबिङ नै गरेको कुरा पनि आयो । तर पनि बोर्डले नेतृत्व पाउन सकेको छैन । लामो समय सम्म बोर्डको नेतृत्व नियुक्त नगरीनुले चलचित्र क्षेत्रमा सरकार र सञ्चारमन्त्री आलोचनाका पात्र बन्दै गएका छन् । झण्डै ३ महिना बोर्डको नेतृत्ब खाली रहनुले यो सरकारले चलचित्र क्षेत्रलाई बेवास्ता गरेको केही चलचित्रकर्मीको भनाई छ ।
सरकारले भने बोर्डको नेतृत्व चयन गर्न नसकी रहेका बेला माओबादी निकटका चलचित्रकर्मीहरुले आफुहरुमा बिबाद नरहेको बताएका छन् । अध्यका दाबेदार भनीएका लामाले बिकास बोर्डमा माओबादी पार्टी र पार्टी सर्मथित चलचित्रकर्मीबाट गणेश भण्डारीलाई पठाउनु पर्छ भन्नेमा सबै एक मत रहेको जानकारी दिए । उनले भने, 'गणेश जी अध्यक्ष भएको बेलामा तयार गरीएका धेरै कार्ययोजना छन् । ति कार्ययोजना लागु गर्न पनि हामीले गणेश जीलाई पठाउने हो ।' उनले यो नियुक्ति चलचित्रको मात्र नभएर राजनीतिक पनि भएको भन्दै राजनीतिक कार्य योजनाका आधारमा काम गर्न आफु भन्दा गणेश उपयुक्त भएकोले गणेशको नममा सर्वसम्मत भएको जानकारी दिए । बिकास बोर्ड नेतृत्व बिहीन हुँदा चलचित्र क्षेत्र नै अस्तब्यस्त भएको भन्दै लामाले मन्त्रीलाई भेटेर छिटो नियुक्त गर्न निरन्तर दबाब दिइरहेको बताएका छन् ।