सांगीतिक रूपमा भन्नु पर्दा यतिखेर चलचित्र 'दुलही' का गीतहरू निकै चर्चामा छन् । गीतसँगै यसै चलचित्रबाट पार्श्व संगीतमा हात हालेका संगीतकार अष्ट लामाको पनि चर्चा एकाएक चुलिएको छ ।
जेष्ठ २७ गते सार्वजनिक हुन लागेको चलचित्र 'दुलही' का गीतहरू चर्चामा आउँदा संगीतकार लामा निकै हौसिएका छन् । त्यसैले त उनी अब देखि चलचित्रको संगीतमा नै लाग्ने बताउँछन् । हुनत उनले यस अघि थुप्रै गीतमा संगीत भरेका छन् तर पनि चलचित्रको गीतमा संगीत भर्न निर्देशक बाबुराम ढकालले उनलाई चलचित्रको संगीतकारको पहिचान दिलाए । अब उनी चलचित्रको संगीतमा जम्न सक्ने दाबी निर्देशक ढकालको छ । यता संगीतकार लामा पनि निर्देशक ढकालबाट निकै खुसी छन् ।
बिशेष गरी चलचित्रका दुई गीत अहिले सञ्चारमाध्यममा मात्र नबहेर अधिकांश स्रोताको मनमा बस्न सफल भएको छ । चलचित्रको शिर्ष गीत 'सानो छँदा...' र अर्को गीत 'सागर बनी...' गरी दुई गीतले अहिले चलचित्र बजार तताएको कुरालाई नकार्न सकिंदैन । शिर्ष गीत 'सानो छँदा...' मा उदितनारायण झा र सञ्जिवनीको स्वर रहेको छ जुन गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । सो गीतमा महानायक राजेश हमाल र नायिका सुमिना घिमिरेलाई देख्न सकिन्छ । यसैगरी बाबुराम ढकालले लेखेको 'सागर बनी' बोलको गीतमा जावेद अलि र साधना सरगमको स्वर रहेको छ । सो गीतमा नायक मुकेश ढकाल र नायिका सुमिना घिमिरेको रोमान्स देख्न सकिन्छ ।
हर्षिता केसीले निर्माण गरेको सो चलचित्रमा ४ वटा गीत रहेपनि अहिले यिनै दुई गीत चर्चामा छन् । हुनत अन्य गीत पनि नराम्रा हैनन् तर युनिटले यिनै दुई गीतको प्रोमोशन गरेकाले पनि बाँकी दुई गीत ओझेलमा परेका हुन् । चलचित्रको अडियो सिडी छिट्टै नै सार्वजनिक गरिंदै छ ।
'सानो छँदा...'