बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यका कान्छा सुपुत्र मोहितवंश आचार्यले एक बर्षसम्म कुनै पनि चलचित्रमा अभिनय नगर्ने बताएका छन् । आमा स्व मीरा आचार्यको शोकमा डुबेका मोहितले आमाको बरखी नफुकाउन्जेल चलचित्रमा अभिनय नगर्ने बताएका हुन् ।
गत वैशाख ८ गते मस्तिष्क पक्षघातका कारण ४६ बर्षको उमेरमै आफ्नी आमाको निधन भएपछि मोहित अहिले शोकाकुल अवस्थामा छन् । त्यसैले पनि उनी अहिले चलचित्रबाट टाढा रहन चाहन्छन् । मोहितलाई गोपीकृष्ण मुभिजले चलचित्र 'मायाको बारीमा' बाट डेब्यू गराउन लागेको थियो । तर अब उनले अभिनय नगर्ने भएपछि उनको ठाउँमा नयाँ अनुहारको खोजी भएको छ ।
दयाराम दाहालले निर्देशन गर्ने भनिएको चलचित्र 'मायाको बारीमा' मा मोहितसँग रिल लाईफमा केकीको रोमान्स देखाउने लागिएको थियो । गोपीकृष्ण त्यो सपना भने पूरा हुन सकेन । अब केकीले अरू नै कुनै नयाँ केटासँग रोमान्स गर्नुपर्ने हुन्छ । सो चलचित्रमा मोहितले अभिनय गर्न नसकेपनि उनलाई गोपीकृष्ण मुभिजले नै अर्को कुनै चलचित्र मार्फत डेब्यू गराउने बताईएको छ ।