पुराना निर्देशकहरुले खनेको बाटोलाई अहिलेका निर्देशकहरुले मर्मत सम्हार गर्नु पर्ने हो । या त त्यो भन्दा झन् राम्रो बाटो खन्न सक्नु पर्ने हो । तर त्यो भन्दा राम्रो बाटो खन्नु त परै जाओस् त्यहि बाटोको पनि मर्मत संहार गर्न नसकेको धेरैको गुनासो छ नयाँ पुस्तासँग । प्राबिधिक रूपले बाहेक अन्य कुनै कुरामा नयाँ फड्को मार्न नसकेको नयाँ पुस्ताका दर्शकहरू बताउँछन् । तर निर्देशक प्रताप सुब्बाले भने नेपाली चलचित्रको बिषयबस्तु, प्रस्तुती शैली र प्रबिधिमा सुधार आएको बताएका छन् ।
पछिल्लो समय चलचित्र बाटो मुनिको फूल, दासढुङा र पटाचारा हेरेको बताउदै सुब्बाले नेपाली चलचित्रले पनि गती लिने आशा ब्यक्त गरे । प्रस्तुत तीन चलचित्र हेरी सकेपछि कपि हुने परम्परा र पुरानै ढर्रामा चलचित्र बन्ने परीपाटीको अन्त्य भए जस्तो लागेको परालको आगोका निर्देशक सुब्बाको भनाई छ । एक दैनिक पत्रिकासँग कुराकानी गर्दै उनले चलचित्रमा आफ्नै परिचय बनाउनु पर्ने भन्दै बलिउडका चलचित्रको कपि नगर्न आग्रह गरे । एक बक्सिङ हान्दा दसजना ढलेको दृश्य देखाउने जमाना गएको बताउदै चलचित्रमा फरक धारको विकास हुनुपर्ने उनले बताए ।
आफ्नो परिचय आर्ट फिल्मको भएको बताउदै उनले आफुले टेलिफिल्महरुमा त्यस्तै गर्ने गरेको उल्लेख गरे । फरक प्रकृतिको फिल्म बनाइरहेकै बेला आफु नेपाल पसेको बताउदै दार्जलिङमा गोर्खाल्याण्ड आन्दोलन चर्कीरहेका बेला चलचित्रमा निम्नबर्गीय चरीत्रलाई उठाएको सुब्बाले जनाए । आफुले कहीँ अँध्यारो कँही उज्यालो फिल्म नबनाएको भए सायद नेपाल आउनुपर्ने थिएन भन्दै उनले पश्चिम बंगालको कम्युनिस्ट सरकारको कठपुतली फिल्म बनाएको भनेर आफुलाई समस्यामा पारिएको स्मरण गरे । 'त्यस बेला फरक धारका चलचित्र बनाउदा आफुलाई दार्जिलिङमा फिल्म देखाउनै नहुने अवस्था तयार गरीएको थियो', उनले भने ।
लामो समय हराउनु भयो नि भन्ने प्रश्नमा उनले आफु चलचित्र क्षेत्रमै व्यस्त रहेंको बताउदै चेतना, जागरण, तिम्रो हाम्रो जिन्दगी बनाएको र याद तिम्रो आयोको सुटिङ सकाइसकेंको जानकारी दिए । उनले अब चेलिबेटी बेचबिखनमाथि फिल्म बनाउँदै गरेको बताएका छन् । अहिले दार्जलिङमा अंग्रेजी र हिन्दी फिल्मकै बोलवाला रहेको भन्दै उनले दार्जिलिङ, खस्राङ, कालिम्पोङ, सिक्किमका फिल्म हलहरुमा नेपाली फिल्म बिरलै चल्ने गरेको बताएका छन् । महिलाहरुलाई हिन्दी सिरियल, नयाँ पुस्तालाई अंग्रेजी र हिन्दी चलचित्रले तानेको भन्दै नेपाली चलचित्र विशेष सो भए मात्रै हलमा चल्ने नत्र नेपाली बस्तीमा प्रोजेक्टर लगेर देखाउने गरेको दु:ख उनले साटे ।
'अधिकार’, 'चटयाङ’, 'दिदी’, 'भीष्म प्रतिज्ञा’ लगायतका दर्जन नेपाली चलचित्र निर्देशन गरिसकेका यि पुराना निर्देशकले चलचित्रमै आफ्नो जिन्दगी बिताएको भन्दै अबको ड्रिम प्रोजेक्ट काठमाडौंमै गर्ने बताए । ड्रिम प्रोजेक्टको रुपमा पञ्चायतको पृष्ठभूमिसँग जोडिएको आर्ट फिल्म र अरु केही अवधारणाहरु रहेको उनको भनाइ छ । नक्कल गरेर हैन हाम्रो आफ्नै नेपाली मौलिक कथामा चलचित्र बनाउन चलचित्रकर्मीलाई उनले सुझाब समेत दिएका छन् । नेपालमा अनेकौं जातजाति भित्र अनेकौं भर्जिन विषय भएको उल्लेख गर्दै सुब्बाले ति बिषयलाई उठान गरे नेपाली चलचित्रले आफ्नोपन स्थापना गर्न सक्ने बताए ।