भन्छन् नेपाल हल्लै हल्लाको देश हो । यहाँ काम हैन हल्ला गर्न जाने हुन्छ । अझ चलचित्र क्षेत्रमा त यो झन् लागु हुन्छ । चलचित्र राम्रो होस् नहोस् राम्रो छ, फरक छ, नयाँ शैलीको यस्तै यस्तै कुराहरु धेरै सुनिन्छन् यहाँ । यसैले होला चलचित्रकर्मीको बिश्वास दिन दिनै घट्दै छ । यहाँ ब्यक्तिले हैन चलचित्रसँग सम्बन्धित संस्थाले पनि यस्ता हल्ला चलाउने गर्दछन् ।
प्रसंग हो नेपाल चलचित्र निर्माता संघको । संघले आज भन्दा ३ महिना अघि अर्थात फागुन ३ गते मंगलबार एउटा तरङ मच्चायो । संघको पहलमा हङकङमा हरेक महिना एउटा नेपाली चलचित्र प्रदर्शन हुने कुरा पत्रकार सम्मेलन नै गरेर जानकारी गराइयो । हङकङको मकालु आरएस नामक संस्था सँग नेपाल चलचित्र निर्माता संघले एक सम्झौता गरी नियमित रुपमा हङकङमा महिनाको एउटा चलचित्र प्रर्दशन गर्ने बताइयो । प्रर्दशनका लागी सहमति भए अनुसार तत्कालका लागी चलचित्र बाटो मुनिको फुल पठाउने जानकारी गराइयो भने त्यसपछि निर्माता संघले एक छनौट समिती बनाएर चलचित्र छनौट गर्ने जानकारी दिइयो ।
तर आज ३ महिना बितिसकेको छ । न त चलचित्र बाटो मुनिको फुल प्रर्दशन भयो न त चलचित्र निर्माता संघले छनौट समिति नै गठन गर्न सक्यो । हुनत चलचित्र प्रर्दशनको लागी सहमति भए पनि प्रर्दशन हुन नसकेकोले छनौट समिति गठन गर्नुको कुनै औचित्य रहेन । आखिर किन होला त सहमति गरे पनि चलचित्र प्रर्दशन हुन नसकेको ? यस बारे बुझ्न हामी पुग्यौ निर्माता संघका अध्यक्ष राजकुमार राई कहाँ । राईसँग बुझ्दा उनले भने, 'हामीले हाम्रो सम्झौता अनुसार काम गर्न तयार छौ । केही बुँदाहरू अपुग भएकोले यो प्रक्रिया रोकिएको हो ।'
नमिलेको बुँदाहरू के-के रहेछन् त ? अध्यक्ष राई भन्छन्, 'सम्झौतामा चलचित्र प्रर्दशनका लागी निर्माता तथा निर्देशक मध्ये एक जनालाई आयोजकलॆ हङकङ लैजाने कुरा उल्लेख थियो । तर त्यहाँ भिषा पाउन अप्ठारो रहेछ । भिषाको लागी कम्पनीले प्रायोजन गर्नु पर्ने रहेछ । त्यसको लागी कम्पनीको आर्थिक स्थिति हङकङ सरकार समक्ष पेश गर्नु पर्ने भएकोले यो प्रक्रिया रोकिएको हो ।' त्यसो भए अब कुरा नमिल्ने नै हो त ? राई भन्छन्, ' यो हप्ता भित्र सबै मिल्छ ।'
राईले अश्वासन दिंदै आफूहरूले चर्चाको लागी नाटक गरेको नभएर नेपाली चलचित्रको हितका लागि यस्तो कदम चलाएको बताए । चाडै नै नेपाली चलचित्रलाई प्रदर्शनको लैजाने बताउँदै राई भन्छन्, 'अहिले एकै पटकमा ५ चलचित्र पठाउनु पर्छ भनेकोले यतिबेला हामी अन्य चलचित्रको छनौट गर्दैछौ । छनौट समिति गठन नभए पनि निर्माता संघको बैठक बसेर प्राबिधिक रुपले सबल नेपाली मौलिक कला संस्कृति झल्काउने र राष्ट्रियताका बिषयमा बनेका चलचित्रलाई पठाइने छ ।' हङकङको हलमा चलचित्र चलाउँदा निर्माताहरूलाई खासै फाईदा नहुने भएकाले प्रोजेक्टरबाट भएपनि चलचित्र प्रदर्शन गर्ने तयारी भएको राईको भनाई छ । उनका अनुसार प्रोजेक्टरबाट देखाएर पनि सबै खर्च कटाएर निर्माताले करिब दुई लाख सम्म पाउन सक्ने छन् ।