चलचित्र पत्रकार संघले प्रत्येक बर्ष प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार यस बर्ष बरिष्ठ पत्रकारद्वय शान्ति प्रिय र नवराज लम्साललाई प्रदान गर्ने भएको छ । चलचित्र पत्रकार संघको शुक्रबार बसेको कार्यसमितीको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशी प्रति पुरस्कार नगद रू दश हजार रहेको छ ।
बिगत दुई दशक देखि सक्रिय रूपमा चलचित्र पत्रकारिता गर्दै आएका प्रिय अहिले फिल्मीखबर साप्ताहिक र छायाँछबि मासिकका सम्पादक रहेका छन् । त्यसैगरी अर्का पत्रकार लम्साल रेडियो नेपालमा कार्यरत छन् । सोही बैठकले अर्का बरिष्ठ पत्रकार भरत शाक्यलाई सम्मानित पनि गर्ने भएको छ । पत्रकार शाक्य अहिले रेडियो राजधानीमा कार्यरत छन् । जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवसको पूर्व सन्ध्यामा उनीहरूलाई पुरस्कृत र सम्मानित गर्न लागिएको हो ।
अघिल्लो बर्ष देखि शुरू गरिएको मोफसल पत्रकारिता पुरस्कार यस बर्ष दिने नदिने टुंगो भने लागेको छैन । बिशेष शुत्रका अनुसार मोफसलका पत्रकारलाई पुरस्कृत गरिने बताईएको भएपनि नाम भने अझै खुलाईएको छैन । गत बर्षको चलचित्र पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका अनन्त वाग्ले र टेलिभिजनकर्मी सुरेश दर्पण पोखरेललाई प्रदान गरिएको थियो भने मोफसल चलचित्र पत्रकारिता पुरस्कार हाल फिल्मीखबर डटकमका संवाददाता रहेका बिष्णु सुवेदीलाई प्रदान गरिएको थियो ।