क्षेत्री समाज नेपालले आईतवार आब्हान गरेको उपत्यका बन्दले कलाकारहरुको दैनिकीलाई पनि प्रभावित पारेको छ । बन्दका कारण बजार पुरै बन्द भएको र सवारी साधनहरु पनि नचलेको कारण कति कलाकार फुर्सदिला देखिएका छन् भने कतिले कठिनाइका बिच काम गरीरहेको बताएका छन् । बन्दका कारण आज चलचित्र हलहरु बन्द छन् । धेरै चलचित्रको सुटिङ पनि आज रोकीएको छ । जसले गर्दा सुटिङमा व्यस्त हुने कलाकारहरू घरमा बस्न बाध्य भएका छन् ।
पछिल्लो समय सुटिङबाट केही फुर्सदिली देखिएकी नायिका करिश्मा मानन्धरले बन्दका कारण आज आफ्नो सम्पुर्ण समय घरमा नै बितेको जनाएकी छिन् । । आफु एउटा सामान्य नागरिक सरह भएको भन्दै उनले आम नागरिकले जस्तै आफुले पनि कठीनाइ भोग्नु परेको बताईन् । । घरमा टिभी हेर्दै समय बिताएको बताउने मानन्धरले समाचार हेर्दा कहि कतै बन्दका बिरुद्ध जनताहरु जुर्मुराएको समाचार देख्दा खुशि लागेको बताईन् । यता केही समय चलचित्रमा अभिनय नगर्ने र घर ब्यवस्थापनमा लाग्ने बताएकी नायिका अरुणिमा लम्साल पनि बन्दका कारण आज एक्लो भईन् । घरका सबै हिडेरै अफिस गएको र आफू कतै जान नपाएको उनले बताईन् । बन्दका कारण घरमा पालिएको उनको प्यारो कुकुर र टेलिभिजन आफ्नो नै आजका लागी उनको साथी बनेछ ।
अर्की नायिका केकी अधिकारीलाई भने आज बन्द भए पनि फुर्सद भएन । उनि चलचित्रको सुटिङमा ब्यस्त भएकी पनि हैनन् । उनी अहिले अध्ययनका क्रममा नबिल बैंकमा इन्टनसिप गरीरहेकी छिन् । त्यसैले बन्द भए पनि हिडेरै बैंक पुगेको केकीले बताईन् । बैकबाटै उनले भनिन्, 'बैंक बन्द नहुने हुँदा दु:ख गरेरै भए पनि आएँ ।' बन्दकै कारण घरमा बस्नु परेको बताउदै नायिका निशा अधिकारीले बन्द सधैका लागी बन्द गरी दिन सबैसँग आग्रह गरेकी छिन् । उनले बन्दका कारण देशका अर्थतन्त्र धरासायी हुने भन्दै यस तर्फ सबैको ध्यानाकृष्ट गरेकी छिन् ।
चावहिलमा बस्ने नायिका निता ढुङ्गाना भने हिजो नै कलंकी स्थित दिदीको घरमा पुगिछन् । बन्द हुन्छ भन्ने हल्ला सुनेर शनिबार नै दिदीको घरमा पुगेको उनले बताईन् । उनले दिदीसँग दिन बिताएको बताउदै बन्द खुले पछि घर फर्कने जानकारी दिइन् । यता द्धन्द्ध निर्देशक राजेन्द्र खडकीलाई भने बन्द देखि रिस उठेको रहेछ । उनी भन्छन्, 'सधै बन्द बन्द । टाइट सेड्यूलमा काम गर्नु पर्दछ बन्दले त ध्वस्तै पार्यो नि !' बन्दका कारण दिनभर घरैमा बिताउनु पर्दा काम रोकिएकोले सार्है दु:ख लागेको उनले बताए ।
यस्तै कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीलाई पनि बन्दले नराम्रैसँग असर गरेछ । उनी पनि दिनभर घर मै बसेछन् । 'केही महत्वपुर्ण कामहरु थिए गर्नै पाइएन', उनले दुखेसो पोखे । बन्द भएपनि निर्माता संघका अध्यक्ष राजकुमार राई भने लाजिम्पाटबाट हिडेरै पुतलिसडकमा रहेको अफिस पुगेर घर फर्किएछन् । 'बन्दको अवज्ञा गर्न भएन हिडेरै गएँ, ३-४ घण्टा बसे अनि घर आएँ', राईले बताए । यस्तै बन्दका कारण घरैमा दिन बिताउने चलचित्रकर्मी युवराज लामा पनि हुन् । उनी घरमा समाचार हेरेर बसेका छन् । अरु बेला बन्दमा सामान्य प्रतिक्रिया दिने लामाले यो बन्दलाई भने निरन्तर सरकार माथिको प्रहार भएको बताए । निर्देशक समाजका अध्यक्ष केपी पाठकको भनाई पनि बन्दकै बिरोधमा छ । उनि भन्छन्, 'बन्द त सधैका लागी बन्द गर्नु पर्दछ ।'