कलाकार तथा निर्माता केशब भट्टराई अहिले अन्यौलमा परेका छन् । केशबले निर्माण गरेको चलचित्र 'छोडि गए पाप लाग्ला' यहि शुक्रबारबाट राजधानीमा प्रदर्शन हुने भएको छ । पालो प्रणाली अनुसार उनको सो चलचित्रले जेष्ठ १४ गरेको डेट पाएको हो तर दिन दिनै जसो बन्द भईरहँदा उनी सो डेटमा चलचित्र रिलिज गर्ने कि नगर्ने भन्ने अन्यौलमा छन् ।
राम्रो चलचित्र बनाएको दाबी गरेका केशबको यो चलचित्र करिब दुई अघि मोफसलबाट प्रदर्शनमा आएको थियो र चलचित्रले सोचे अनुरूपको व्यापार गर्न सकेको थिएन । अहिले आफ्नो चलचित्रबाट केहि आश गरेको बेला यस्तो बन्द भईंदिदा केशब निकै फ्रस्टेड भएका छन् । उनी भन्छन्, 'अभागीको खप्पर जहाँ गयो त्यहिं ठक्कर ।' १४ गते सम्म देशको अवस्था कस्तो हुन्छ भनेर केहि अनुमान लगाउन सक्ने अवस्था नरहेकोले चलचित्र रिलिज गर्न निकै डर लागेको केशबको भनाई छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र 'छोडि गए पाप लाग्ला' मा विराज भट्ट, राज वल्लभ कोइराला, ऋचा घिमिरे, संचिता लुइँटेल, हेमन्त बुढाथोकी, विष्णु सापकोटा, नागेन्द्र रिजाल प्रमुख भूमिकामा छन् भने अतिथिका रूपमा झरना थापा छिन् ।चलचित्रमा नृत्य शान्ता नेपाली र राजु शाह, द्वन्द्व हिमाल केसी, छायांकन दीपक बज्राचार्यको रहेको छ । उज्ज्वल घिमिरेद्वारा निर्देशित यस चलचित्रमा सुरेश अधिकारीले संगीत दिएका छन्।