लामो समय देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा गणेश भण्डारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
अध्यक्ष पदका लागि थुप्रै चलचित्रकर्मीहरूको नाम चर्चामा रहे पनि अन्तत: भण्डारी नै चुनिएका छन् । सञ्चार मन्त्रालय एकीकृत माओवादीमा आएपछि यसै मन्त्रालय अन्तर्गत पर्ने चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि माओवादी निकट भण्डारीलाई नियुक्त गरिएको हो । अध्यक्ष पदमा नियुक्त भएपछि भण्डारीलाई यतिबेला बधाई एवम् शुभकामना दिनेहरूको ओइरो नै लाग्न थालेको छ ।
२०६६ असार १६ गते एमाले सरकारबाट अध्यक्ष नियुक्त भएका अमर गिरीले माओवादीले सञ्चार मन्त्रालय लिएपछि तीन महिना अगाडी राजिनामा दिएका थिए । उनले राजिनामा दिएपछि बोर्डको नयाँ कार्यसमिती चयन हुन सकेको थिएन । गिरीले राजिनामा दिएको तीन महिना बितिसकेपछि मात्र भण्डारी चयन भए र यो पद उनलाई निल्नु न ओकल्नु जस्तै हुन गएको छ । उनको यो पद कहिले सम्मलाई हो भन्ने कुनै निधो छैन । यानकी नियुक्तिसँगै उनको अध्यक्ष पद धरापमा छ ।
जेष्ठ १४ गते सकिंदै छ र १४ गते पछि सरकार आँफै धरापमा छ । त्यसैले पनि भण्डारीलाई यो पद 'नखाउँ भने दिन भरको शिकार खाउँ भने कान्छा बाउको अनुहार' भन्ने उखान जस्तै भएको छ । तर उनलाई यो पद भने कुनै नौलो हैन । किनकी उनी यस अघि पनि माओवादीको सरकार हुँदा बोर्डको अध्यक्ष पदको भार सम्हालेका थिए । जे होस् भण्डारीको अध्यक्ष पद जहिले सम्मका लागि भएपनि फिल्मीखबर डटकम परिवार उनलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छ ।