महानायक राजेश हमाल फरक भुमिकामा प्रस्तुत भएको भनिएका तीन चलचित्र साहसी, दुलही र हात लाग्यो शून्य मध्ये शुरूमा 'साहसी' रिलिज हुने भएको छ । भोज गुरूङले निर्माण गरेको सो चलचित्र यहि जेष्ठ २० गते देशभर एकसाथ सार्वजनिक हुने पक्का नै भएको छ ।
मुनाल फिल्म प्रालि र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुति चलचित्र साहसी मा महानायक राजेश हमाललाई विल्कुलै नयाँ भुमिकामा उतारिको निर्माण पक्षको दाबी छ । साहसीमा महानायक चिनियाँ मार्शल आर्ट खेल उसु अन्तर्गत पर्ने ताइचीको प्रमुख प्रशिक्षकको रुपमा देखिंदैछन् । देशको वर्तमान राजनैतिक परिवेशलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको भनिएको सो चलचित्रको निर्देशन बासुदेब पोखरेलले गरेका हुन् ।
राजेश हमाल, गणेश उप्रेती, भोजवहादुर गुरुङ, स्नेहा शर्मा, मणिरत्न पौडेल, शर्मिला श्रेष्ठ, राजु अधिकारी, योग बज्राचार्य, कुलप्रसाद गुरुङ, राजेन्द्र अधिकारी, ज्याक गुरु, छवि सुवेदीलगायतका कलाकारको अभिनय रहेको यस चलचित्रलाई झमबहादुर गुरुङ कुविना गुरुङ र धन माया गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा संगीत लोकनाथ सापकोटा, छायाँकन सुमन तण्डुकार, नृत्य निर्देशक अजय विष्ट, द्वन्द्वनिर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादन रोशन लामिछाने र पटकथा/संवादमा मामाभान्जा रहेका छन् ।
साहसी रिलिज भएको एक साता बित्न नपाउँदै महानायकको अर्को चलचित्र 'दुलही' रिलिज हुनेछ भने त्यसको केहि सातमा हात लाग्यो शून्य रिलिज हुनेछ । अब यि तीन मध्ये कुन चलचित्रले बढि सफलता हात पार्ने हो त्यो हेर्न बाँकी नै छ ।