लामो समय देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा गणेश भण्डारीलाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त त गर्यो तर उनले सपथ भने लिन पाएनन् । अध्यक्ष पदमा नियुक्त भएपछि बिहिबार भण्डारीले पद तथा गोपनियताको सपथ लिने भनि सञ्चारकर्मीलाई निम्तो पठाईएको थियो तर सपथ पत्र समयमा नआएपछि उनले सपथ लिन नपाएका हुन् ।
भण्डारीले बिहिबार सपथ लिन नपाएपछि सो कार्यक्रम शुक्रबारलाई सारिएको छ । तर दुई दिनसम्म नेपाल बन्दको हल्ला चलिरहेकोले उनले शुक्रबार र शनिबार पनि नपाउने सम्भावना देखिएको छ । अहिले प्रधानमन्त्रिको राजिनामा माग भईरहेको अवस्थामा सरकारको केहि टुंगो छैन । यो अवस्थामा भण्डारी बोर्डको अध्यक्ष पदमा नियुक्त हुनु उनकै लागि दुर्भाग्य हुन सक्ने पनि अनुमान लगाईएको छ ।
अहिले सञ्चार मन्त्रालय माओवादीको पोल्टामा छ त्यसैले भण्डारी माओवादीको तर्फबाट अध्यक्ष पदमा नियुक्त भएका हुन् । तर प्रधानमन्त्रीले राजिनामा दिएर नयाँ सरकार गठन भएपछि सञ्चारमन्त्रालय माओवादीको पोल्टामा परेन भने भण्डारीलाई राजिनामा दिन दबाब आउने छ । त्यसैले उनको यो पद कहिले सम्मका लागि हो भन्ने कुरा निकै अन्यौलमा छ । तर जहिले सम्मका लागि भए पनि उनले आफू रहूञ्जेल राम्रो काम गरेर देखाउन् भन्ने सबैको चाहना हुनेछ ।