चलचित्र बिकाश बोर्डका नवनियुक्त अध्यक्ष गणेश भण्डारीले आफ्नो अघिल्लो कार्यकालमा सुरु गरेका कामलाई निरन्तरता दिने बताएका छन् । आज लिने भनिएको सपथ सोमबारलाई सरेको जानकारी दिदै भण्डारीले सोमबार आफुले सपथ लिने र मंगलबार बोर्डलाई पुर्णता दिने बताएका छन् ।
चलचित्रको बजार सिमीत छ भन्ने कुराहरु उठिरहेका बेला उनले सबैभन्दा पहिला चलचित्रको बजार बृद्धिलाई नै प्राथमिकतामा राखेका छन् । यो सँगै चलचित्रको माध्यमबाट पर्यटन प्रर्बद्धनमा सहयोग पुर्याउने अभियानलाई पनि उनले सँगै अगाडी बढाउने भएका छन् । 'गन्तब्य नेपाल' नाम दिइएको यो कार्यक्रम संसार भरका चलचित्रकर्मीलाई नेपालको कला संस्कृति र पहिचानसँग परिचित गराउदै गन्तब्य नेपाल बनाउने अभियान भएकोले यसबाट चलचित्रको बजार सँगै पर्यटन प्रर्बद्धन हुने उनको भनाई छ ।
गणेशले यो अभियानका बारेमा छिट्टै नै स्पष्ट रुपरेखा तय गरिने जनाएका छन् । उनले भने, 'हामी जहाँ-जहाँ जान्छौ त्यहाँ-त्यहाँ अर्न्तक्रिया गर्छौं । नेपाली चलचित्रका बारेमा जानकारी गराउदछौ चलचित्र प्रर्दशन गर्दछौ र नेपाल आउन पनि आग्रह गर्दछौ ।' तर कस्ता चलचित्रलाई यो कार्यक्रममा सहभागी गराउने भन्ने बारेमा छनौट समिति गठन गरीने गणेशले बताए।
यो संगै आफ्नो अघिल्लो कार्यकालमा अगाडी सारिएको सुटिङ स्टुडियो निर्माणको योजना पनि साकार हुने भण्डारीले बताए। उनले देशका तिन स्थानमा सुटिङ स्टुडियो बनाउने कार्य यस पटकको बिकास बजेटमा नै समेटिएर आउने बताएका छन् । आफु जागिरेको रूपमा नभई चलचित्रकर्मीहरुको सिपाहीको रुपमा चलचित्र बिकाश बोर्डमा पुगेको बताउने भण्डारीले आफुमा प्रशस्त इच्छा शक्ति भएकोले चलचित्र क्षेत्रका लागी महत्वपुर्ण काम गर्ने बताए ।
सदस्यहरुमा को-को नियुक्त हुन्छन् भन्ने प्रश्नमा उनले छनौट जारी रहेकोले मंगलबार मात्र सार्वजनिक गरिने बताउदै समाबेशी आधारमा काम गर्न सक्ने ब्यक्तिहरु मात्र बोर्डको सदस्य हुने उनले जनाए ।