इन्डियन आईडलको बिजेता बनेपछि नेपाली मुलका गायक प्रशान्त तामाङको चर्चा एकाएक चुलिएको थियो । जब उनले अभिनय गरेको नेपाली चलचित्र 'गोर्खा पल्टन' बर्षकै हिट चलचित्र भन्यो तब उनको चर्चा झन् दोब्बर भयो ।
चलचित्र गोर्खा पल्टनमा अभिनय गरेपछि धेरै निर्माता निर्देशकहरूले प्रशान्त माथि नजर लगाए । त्यसैले त उनले लगातार तीन चलचित्रमा अभिनय गर्ने अवसर पनि पाए । गोर्खा पल्टन पछि उनले सिक्किमका दुई नेपाली चलचित्र 'अंगालो यो मायाको' र 'किन मायामा' मा अभिनय गरे । यिनै दुई चलचित्र मध्ये 'किन मायामा' यहि असार ३१ गते देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।
प्रशान्तको मात्र हैन यो चलचित्रमा अभिनय गरेकी नायिका सुमिना घिमिरेको पनि चर्चा उत्तिकै छ । एउटा चलचित्र पनि रिलिज नभई नौ वटा चलचित्रमा अभिनय गरिसकेकी सुमिनाले यसरी एक पछि अर्को चलचित्रमा अभिनय गर्न पाउँदा उनी माथी प्रश्न चिन्ह खडा गर्नेको ओईरो नै लागेको छ । छबिलाल कञ्जुस छैन नामक चलचित्रबाट अभिनय यात्रा शुरू गरेकी सुमिनाको 'किन मायामा' चलचित्र पाचौं हो । तर उनले अभिनय गरेको छैठौं चलचित्र 'दुलही' 'किन मायामा' भन्दा अगाडी जेष्ठ २७ गते रिलिज हुँदैछ ।
सिक्किमकै नेपाली चुन्निलाल घिमिरेको निर्देशनमा बनेको चलचित्र 'किन मायामा' लाई समिर प्रधानले निर्माण गरेका हुन् । प्रशान्त तामाङ, सुमिना घिमिरे, बिक्रम पराजुली, पुनम गुरूङ, हरी हरि ढुंगेल, भरत बशिष्ट, बिशाल चाम्लिङ, आकाश खवास लगायतले अभिनय गरेको सो चलचित्रमा चुन्निलाल घिमिरेको कथा, महेश खड्काको संगीत, गोबिन्द राईको नृत्य, रोशन श्रेष्ठको द्वन्द र शिब ढकालको छायाँकन रहेको छ ।
यसरी इन्डियन आईडल र चलचित्र 'गोर्खा पल्टन' बाट दर्शकको मन जित्न सफल नायक तथा गायक प्रशान्त तामाङ र चलचित्र रिलिज पूर्व नै चर्चा पाएकी नायिका सुमिना घिमिरेले अभिनय गरेको चलचित्र 'किन मायामा' ले भने कस्तो चर्चा पाउने हो त्यो हेर्न बाँकी नै छ ।