आफ्नो चलचित्रले जस्तो सुकै ब्यापार गरोस् तर राम्रो ब्यापार गरेको बताउने चलचित्रकर्मीहरुको सुचिमा निर्देशक आलोक नेम्वाङको नाम पनि थपिएको छ । उनले सञ्चारमाध्यमले बास्तविक रिपोर्ट नै नबुझिकन चलचित्रलाई सफल र असफल भन्ने गरेको आरोप लगाएका छन् । साथै उनले अझै केही वर्ष चलचित्र निर्देशन नगर्ने बताएका छन् ।
राम्रो चलचित्र बनाउने निर्देशक भए पनि चलचित्र 'कोही मेरो' ले व्यापारिक सफलता हात नपारेका कारण तपाईलाई अरु निर्माताले नपत्याएका त हैनन् भन्ने प्रश्नमा उनले आफ्नो पहिलो चलचित्र 'सानो संसार' र 'कोही मेरो' दुबैले राम्रो ब्यापार गरेको तर सञ्चारमाध्यमले वास्तविकता नै नबुझिकन असफल भनिदिएको दुखेसो पोखे । उनले सबैले आ-आफ्नै तरीकाले बिश्लेषण गर्ने गरेको र वास्तविकता नबुझ्ने गरेको आरोप समेत लगाए ।
के साच्चै 'कोही मेरो' ले सफल ब्यापार गरेकै हो त भन्ने प्रश्नमा भने उनी खुल्न चाहेनन् । त्यसो भए किन केही वर्ष चलचित्र निर्देशन नगर्ने भनेको त भन्ने बारे बुझ्न खोज्दा उनले राम्रो निर्माता पाए डेढ २ वर्ष पछि सोच्न सकिने बताए । कथा र सम्बाद आफुमा निर्भर रहने भन्दै उनले निर्माता राम्रो भयो भने मात्र काम अगाढी बढाउने जनाएका छन् । उनले आफुले चलचित्र 'सानो संसार' र 'कोही मेरो' बनाउँदा पनि डेढ वर्षको अन्तर गरेको भन्दै यो स्वभाविक भएको बताए ।
म्यूजिक भिडियो निर्देशनबाट चलचित्र निर्देशनमा हात हालेका यि निर्देशकले अहिले पनि आफु म्यूजिक भिडियोमा नै ब्यस्त भएको बताएका छन् । उनले म्यूजिक भिडियोमा ब्यस्त भएको बताउदै राम्रा चलचित्र बनाउने बरु कम चलचित्र बनाउने बताए । धेरै म्यूजिक भिडियो बनाइसकेका यि निर्देशकले बनाएका म्यूजिक भिडियोले भने निकै चर्चा पाउने गरेको छ । तर म्यूजिक भिडियोको दाँजोमा चलचित्रले भने सोचे अनुसारको सफलता दिन सकेको छैन ।