पटक पटक बिबादमा तानिएको चलचित्र सेन्सर बोर्डको खारेजीको माग गर्दै निर्माता निलहरी काफ्लेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गर्ने भएका छन् । जेष्ठ ४ गते बुधबार उनले निर्माण गरेको चलचित्र खग्रासलाई सेन्सर बोर्डले रोकेपछि उनी बोर्ड खारेजीको माग गर्दै सर्वोच्च जान लागेका हुन् ।
निलहरी कै शब्दमा भन्ने हो भने सरकारी स्वामित्वको नेपाल टेलिभिजनले हजार पल्ट प्रसारण गरेका दृष्य र पत्रपत्रिकामा लाख लाइन लेखिएका संवादहरु चलचित्रमा काट्न लगाउनु अभिब्यक्ति स्वतन्त्रताको हनन हो । उनी भन्छन्, 'बोर्डलाई मनपरी चलाइयो जे मन लाग्छ त्यही गरियो । यसर्थ हामीले बोर्ड खारेजीको मुद्धा हाल्न लागेका हौं ।' आफुले आफ्नो चलचित्र खग्रासका केही दृष्यहरु काटेमा सजिलै पास हुन्छ भन्दै यस्तो बेलामा चुप लागेर आफ्नो चलचित्रका बारेमा मात्र सोच्दा अरु चलचित्रकर्मीले पटक-पटक यस्तो समस्या झेल्नु पर्ने भएकाले बोर्डकै खारेजीको माग गरेको निलहरीले बताए ।
८ गते आइतबार सर्वोच्च जाने भनिए पनि तयारी नपुगेको कारण यो समय बिहीबारका लागि सारिएको भए पनि देशको पछिल्लो राजनितिक अवस्थाका कारण सो दिन पनि रिट दायर गर्न नसकिएकोले सोमबार रिट दायर गर्न लागिएको काफ्लेले बताए । यस अघि चलचित्र निर्माण गर्ने क्रममा निर्माता संघ र निर्देशक समाजको स्विकृति लिनुपर्ने प्राबधानका बिरुद्धमा पनि आफुले मुद्धा दायर गरी जितेको स्मरण गर्दै सेन्सर बोर्डको खारेजीको यो लडाईमा पनि आफ्नो जीत हुने उनले बिश्वास ब्यक्त गरे ।
पटक पटक समय सार्नु भएको छ कतै चर्चाका लागि यसो भन्नु भएको त हैन भन्ने प्रश्नमा उनले सर्वोच्चमा मुद्धा लड्दा जति खर्च हुन्छ त्यसले प्रचार प्रसारका लागि प्रशस्त हुने बताए । अधिबक्ता माधब बस्नेत र लिलामणी पौडेलले आफ्नो तर्फबाट बोर्ड खारेजीको लागि रिट दर्ता गर्न लागेको जानकारी दिदै अभिब्यक्ति स्बतन्त्रताका लागि यो रिट दायर गर्न लागिएको निलहरीले बताए । सञ्चार मन्त्रालय र चलचित्रसँग जोडीने बिषयहरुमा बस्नेत र पौडेल बढी बिज्ञ रहेकाले उनिहरुलाई छनौट गरेको निलहरीको भनाई छ ।
यस बारेमा हामीले बोर्डका नवनियुक्त अध्यक्ष गणेश भण्डारीसँग बुझ्न खोज्दा उनले आफु यो बारेमा अनभिज्ञ रहेको बताए । आफुले सोमबारबाट मात्रै कार्यभार सम्हाल्ने भन्दै उनले यस्तो भएमा पहिला सम्बन्धित पक्षसँग कुरा गरेर समस्याको समाधान खोजीने बताए । उनले सेन्सर बोर्ड कुनै पनि हालतमा खारेज हुन नसक्ने भन्दै चलचित्रकर्मीहरुकै सल्लाहका आधारमा केही प्राबधानहरु परिवर्तन हुन सक्ने बताए । तर आफु यो बारेमा अनभिज्ञ रहेका कारण यस बारे अहिले नै बोल्न नसक्ने उनको कथन छ ।