तनहुँको व्यास-१ हाईस्कुलटारमा रहेको निर्मल उच्च माविका ७५ जना छात्र छात्रा तथा २ जना शिक्षक शिक्षिकाले उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भईरहेको नेपाली कथानक चलचित्र मुना मदन हेरेका छन् । सोमबार सो चलचित्र हेर्न विद्यार्थीहरु विद्यालय पोशाकमै आएका थिए ।
उत्तरशीला चलचित्र मन्दिरका प्रोपाईटर प्रमोद पाण्डेले विद्यालयको पोशाकमा मुना मदन हेर्न आउने दर्शकलाई विशेष सुविधा दिईएको बताए । माध्यमिक विद्यालयको नेपाली पाठ्य पुस्तकमा मुना मदनको बारेमा समावेश भएको कारण त्यसप्रति थप जानकारी लिन चलचित्र हेर्न आएको एक विद्यार्थीले बताए । उनले भने ,'पढेर जति बुझिन्थ्यो त्यो भन्दा बढि चलचित्र हेरेर बुझियो । अब यो कथा कहिल्यै बिर्सिन्न ।' यसैगरी एक छात्राले भनिन्, 'मुना र मदन दुबैको अन्त्यमा मृत्यु भएको दृष्यले मेरो मन नै थामिएन ।'
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुना मदनको कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्र दर्शकहरुको विशेष अनुरोधमा दमौलीमा पुनः प्रर्दशनमा आएको हो । विश्व प्रसिद्ध ओस्कार अवार्डकालागी छनोट भएको मुनामदन चलचित्रमा दिपक त्रिपाठी, उषा पौडेल, नीर शाह, बिजय लामा, सुभद्रा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । नवराज ढकालले निर्माण गरेको सो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।
करिब आठ बर्ष अघि निर्माण गरिएको चलचित्र मुना मदनको थुप्रै ठाउँहरूमा च्यारिटी गरि सकिएको निर्माता ढकालले जानकारी गराए । बिशेष गरी स्कुलका विद्यार्थीहरुले सो चलचित्रलाई रोचाएको उनको भनाई छ । एनबिए फिल्म्सको ब्यानरमा निर्माण भएको सो चलचित्र २ घण्टा ४५ मिनेटको छ ।