गायकबाट नायक बन्ने परम्परा नयाँ हैन । जब नेपालमा नेपाली चलचित्रको निर्माण कार्य शुरू भयो त्यो बेला देखि नै गायकहरू नायक बनेका हुन् । नेपालमा बनेको पहिलो चलचित्र 'आमा' का नायक स्व. शिवशंकर मानन्धर नायक हुनुभन्दा पहिला गायक तथा संगीतकार थिए । उनीबाट नै गायक नायक बन्ने परम्पराको शुरूवात भएको हो । तर उनी चलचित्रमा भने टिक्न सकेनन् ।
शिवशंकर पछि गायकबाट नायक बन्नेमा सिपी लोहनी पनि पर्छन् । माइतीघरका नायक लोहनी गायक भएपछि मात्र नायक भएका हुन् । बलिउडकी चर्चित नायिका माला सिन्हासँग माइतीघरमा नायक भएका सिपी नायिका सिन्हासँग प्रेम विवाह गरेपछि चलचित्र क्षेत्रबाट हराए । यस्तै रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र 'कुसुमे रुमाल' मा चर्चित गायक उदितनारायण झा पनि नायक बने । गायक झाले 'पिरती' मा नायकको रूपमा दोहोरो भूमिकामा प्रस्तुत भए । त्यसपछि भने उनी अभिनयमा जम्न सकेनन् ।
नेपाली चलचित्रको इतिहासलाई हेर्दा गायकबाट नायक भएका धेरैजसो गायकहरू नायकमा असफल भएको भएतापनि गायकबाट नायकमा सफल तथा लोकप्रिय नभएका पनि हैनन् । यसको प्रत्यक्ष उदाहरणको रूपमा नायक भुवन केसी पर्छन् । चलचित्र 'जुनी' मा गर्नु पूर्व भुवन केसी गायक थिए । अहिलेका सदाबहार नायकको रूपमा परिचित यि नायकले जुनीमा अभिनय गरेपछि पनि फाट्ट फुट्ट गीत गाए तर उनी गायनमा जम्न सकेनन् र अभिनयमा नै निरन्तर लागि परे र सफल पनि भए । थुप्रै नेपाली तथा हिन्दी गीतहरू गाएका बलिउडको चलचित्रका चर्चित कलाकार डेनी डेङजोङपाले पनि मसाल र साइनोमा नायक भएर देखा परेका थिए तर उनी गायन जम्न सकेनन् र उनी बलिउडका चलचित्रमा नै रमाए ।
गायक रामकृष्ण ढकाल चलचित्र आर्शिबादमा अभिनय गरेर चलचित्रमा प्रबेश गरेका गायक हुन् । उनकै कथामा तयार पारीएको चलचित्र भएका कारण उनले यो चलचित्रमा खेलेको बताए तर यो चलचित्र पछि उनि उनले निरन्तरता पाउन सकेनन् । अभिनयमा दख्खल भएका कलाकारहरु पनि काम बिहिन भएर पलायन हुदै गरेको अवस्थामा रामकृष्णको स्वरले अभिनयमा काम गर्न सकेन । अन्ततः उनि म्यूजिक भिडियोमा नै सिमित भए त्यो पनि आफ्नै गीतका । एकताका यौन काण्डमा परि केही वर्ष जेलको समेत सजाय पाइसकेका गायक प्रकाश ओझा पनि दाईको ससुरालीमा नायक भएर देखा परे । तर उनी अभिनयमा खासै जम्न सकेनन् र गायनमै रमाए । यस्तै अहिलेका चर्चित गायक राजेश पायल राईले पनि एउटा चलचित्रमा अभिनय गरे । अहिले उनी राई इज किङ र दर्शन नमस्ते नामक चलचित्रमा देखिंदै छन् हेरौं उनी कत्तिको जम्ने हुन् ।
यता युवा पुस्तामा लोकप्रिय गायक निमा रुम्बाले पनि चलचित्र कागबेनीमा अभिनय गरे । त्यो चलचित्रमा उनको अभिनयको त प्रसंसा भयो तर त्यस पछि उनले अरु कुनै चलचित्रमा देखिएनन् । बरू उनी गायनमै जमे । यता गायक यश कुमारले भने आफ्नै लगानीमा चलचित्र बाटो मुनिको फूल निर्माण गरे र नायक पनि भए । उनको अभिनयको प्रशंसा धेरैले गरे त्यसैले अहिले उनी वीर नामक चलचित्रमा अभिनय गर्दैछन् । यशसँगै अर्का गायक बाबु बोगटी पनि सोही चलचित्रबाट नायकको रूपमा डेब्यू गरे । उनको अभिनयको पनि धेरैले तारिफ गरे । त्यसपछि उनले 'न बिर्सें तिमीलाई नपाएँ तिमीलाई' मा अभिनय गरे र त्यसमा पनि उनको राम्रै चर्चा भयो । अहिले उनी गायनसँगै अभिनयमा पनि आश लाग्दो कलाकारको रूपमा चिनिएका छन् ।
आर्दश नारीमा अभिनय गर्नु अघि बिजय लामा पनि गित गाउथे । गायन बाट प्रर्दशनको दुनियामा होमिएका उनको अभिनय यात्राले पनि सोचे अनुरुपको गति पाएन । त्यसैगरी लोक गायक मिलन लामा चलचित्र 'हङकङ आइडी' मार्फत चलचित्र जगतमा प्रवेश गर्दै छन् । तेश्रो इण्डियन आइडियल प्रशान्त तामाङ नेपाली चलचित्र 'गोर्खा पल्टन'मा नायकको भूमिका देखा परे । उनले अभिनय गरेको सो चलचित्र त ०६७ सालकै सफल चलचित्रको रूपमा स्थापित भयो । 'गोर्खा पल्टन' पश्चात प्रशान्तले 'अंगालो यो मायाको' र 'किन मायामा' नामक चलचित्रमा अभिनय गरे । उनी पनि गायनसँगै अभिनयमा जम्न खोज्दैछन् ।
यस्तै अर्का चर्चित गायक सत्यराज आचार्य पनि आफ्नै पिताको कथामा आधारित चलचित्र 'आचार्य' बाट नायक बनेका छन् । उनले गरेको कामको चर्चा भने चलचित्र रिलिज भएपछि मात्र हुनेछ । अहिलेलाई उनी गायनमा नै सफल छन् । यस्तै कमेडी गायक श्रीकृष्ण लुइँटेल (बोकेदार्ही) ले पनि आँफैले निर्देशन गरेको चलचित्र 'बस नं १३६' मा नायक भएर अभिनय गरे । त्यसपछि भने उनी कुनै चलचित्रमा देखिएका छैनन् । यता पर्यटकीय नगरी पोखरामा रहेर संगित साधानामा क्रियाशिल गायक शोभित बसयालले पनि 'मार्केट' नामको चलचित्रबाट अभिनय यात्रा प्रारम्भ गरे । उनले यो चलचित्र पछि केही क्षेत्रीय स्तरका चलचित्रमा अभिनय गरे तर उनको परिचय पनि नायक भन्दा गायककै रुपमा बढी छ ।
गायक गायिकाहरुले आफ्ना गीतमा आफैले मोडलिङ गर्ने क्रम पछिल्लो समय ज्यादै फस्टाएको छ । तर केही चलचित्रलाई छोडेर हेर्ने हो भने यिनै कलाकारहरुले अभिनय गरेका चलचित्रहरु भने त्यति सफल भएका छैनन् । यसरी गायकहरू नायक बन्ने परम्परा आगामी दिनमा झन् बढ्दै जानेछ भन्ने कुरामा दुई मत नहोला । बरू अभिनयमा लाग्ने को-को गायक सफल हुने हुन् र को-को असफल हुने हुन् हामी चर्चा गर्दै जानेछौं ।