चलचित्र निर्माता संघले अघि सारेका बिषयहरुमा चलचित्र संघ सकारात्मक देखिएको छ । निर्माता संघको बैठक र वार्ता बारे फिल्मीखबरले समाचार प्रकाशित गरेपछि फिल्मीखबरसँग कुरा गर्दै चलचित्र संघका महासचिब प्रदिप उदयले निर्माता संघले अगाडी सारेका विषयहरु जायज भएको भन्दै वार्ताबाट समस्याको समाधान हुने बिश्वास ब्यक्त गरेका छन् ।
केही चलचित्र हलहरुले बदमासी गरेको स्विकार गर्दै महासचिब उदयले केही निर्माता पनि सच्चिन आवश्यक रहेको बताए । हलहरुले प्रोजेक्टरको भाडा पनि निर्माताहरुसँग लिने गरेको प्रति इंकित गर्दै चलचित्र चलाउने बेलामा हल पाएपछि त्यो हलमा जडान गरिएको प्रबिधि बारे नै नबुझि चलाउने अनि पछि हलले पैसा असुल गरेको भन्न नमिल्ने बताउँछन् उदय । चलचित्र चल्नु अघि हलमा जडान गरिएको प्रबिधिबारे निर्माता जानकार हुन जरुरी रहेको उदयको भनाई छ । उनी भन्छन्, 'कि त निर्माताले हलमा जडान गरिएकै प्रबिधिबाट चलचित्र चलाउनु पर्यो नत्र अन्य प्रबिधिबाट चलाइन्छ भने त्यसको केही हिस्सा खर्च निर्माताले पनि बेहोर्नु पर्ने कुरा सहि नै जस्तो देखिन्छ ।'
निर्माताहरुले हलवालासँग सम्झौता गरेर चलचित्र चलाउने हो भने यस्ता समस्या नआउने उदयको भनाइ छ । उनका अनुसार निर्माताहरुले मिनिमम ग्यारेन्टीमा हललाई चलचित्र चलाउन दिने अनि सो बराबरको ब्यापार नभए पनि उक्त रकम असुल गरी छाड्ने तर बढी ब्यापार भएमा ब्यापारको हिस्सा खोज्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको छ । त्यस्तै निर्माता संघले उठाएको अर्को स्थानिय प्रचार प्रचारको कुरा गर्दा स्थानिय स्तरमा गरिने प्रचार प्रसारको खर्च आधा आधा बेहोर्ने गरेको उनले जानकारी दिए । उनले यसरी प्रचार प्रसार गर्दा पनि निर्माताको अनुमतिमा मात्र खर्च गरिने जानकारी दिएका । चलचित्र निर्माता र चलचित्र प्रर्दशकहरु बिच सुमधुर सम्बन्ध रहनु पर्ने बताउदै महासचिब उदयले आफुहरुका गल्तीलाई स्विकार गर्दै ति गल्ती सुधार गर्न चलचित्र संघ सधै तयार रहेकोले निर्माताहरुले पनि आफुहरुका गल्तीलाई स्विकार गर्दै देखिएका समस्याहरु समाधान गरी सहयात्रा गरेर अगाढी बढ्न आग्रह समेत गरेका छन् ।
चलचित्र प्रदर्शन गर्दा हलवालाले विभिन्न बहानामा निर्माताहरुसँग पैसा लिने गरेको भन्दै निर्माताहरुको दबाब आए पछि चलचित्र संघसँग बार्ता गर्ने निर्णय निर्माता संघले गरेको थियो ।