निर्माता शुसिल पोखरेलले चलचित्र 'बडिगार्ड' का लागि नयाँ नायक भेटेका छन् ।उनले फेसबुकमा बलिउडका नायक रित्तिक रोशन जस्तै नायक खोजेको कुरा उल्लेख गरेपछि सो कुरालाई आधार मानेर फिल्मीखबर डटकमले समाचार प्रकाशित गरेको थियो । सो समाचार पढेर धेरै युवकहरूले शुसिललाई आफू नायक हुन लायकको भन्दै फोटो सहित ईमेल गरेछन् । तिनै फोटो र ईमेल पढेर शुसिलले असलन शाह नाम गरेका युवकलाई आफ्नो चलचित्र बडिगार्डको हिरो बनाउने बाचा गरेका छन् ।
निर्माता पोखरेलले आफ्नो फेसबुकबाट आफुले खोजेको ब्यक्तिको सम्पूर्ण हुलिया सहित नायकको खोजी गरेका उनले अन्ततः फिल्मीखबरले समाचार प्रकाशन गरेपछि नायक भेटेको बताएका छन् । उनले हामी समक्ष आभार ब्यक्त गर्दै फिल्मीखबरले समाचार प्रकाशन गरेपछि सय भन्दा बढी ब्यक्तिले सम्पर्क गरेको र सम्पर्कमा आउने मध्येबाट काठमाडौको पुतलीसडकमा घर भएका असलनलाई छनौट गरेको बताए । असलनको बारेमा थप जानकारी खुलाउन नचाहेका निर्माता पोखरेलले उनको अनुहार रहित शरिर पोष्टर समेत डिजाइन गरेका छन् । उनले यो पोष्टर पनि फेसबुकबाट नै सार्वजनिक गरेका छन् ।
बडिबिल्डरको लिड रोल गर्ने यि नायक बारे अन्य कुराहरु शुसिलले नखुलाए पनि अहिले उनि बिदेशमा रहेको र बिगत लामो समय देखि आफ्नो शरीर बनाउनुको साथसाथै लामो समयदेखि अभिनय प्रशिक्षण पनि लिइरहेको बताए । नेपालमा हिरोको कमी भएको भन्दै उनले त्यो स्थान अब यि ब्यक्तिले लिने समेत दाबी गरे । असलनका करीब ६ सय फोटो हेरी सकेपछि मात्र छनौट गरेको भन्दै उनले भने, 'असलन हरेक कोणबाट हिरो जस्तै देखिन्छ ।'
केही समय पछि भेटिएका नयाँ कलाकारबारे बोल्ने बताउने पोखरेलले नायक मात्र नभएर नायिका पनि नयाँ नै राख्ने योजनामा रहेको बताए । उनले हिरो भेटिएकोले अब उसलाई सुहाउने हिरोइनको खोजी गर्न थालेको बताए । 'हिरोईन पनि सर्वगुण सम्पन्न नै हुनुपर्छ', शुसिलले भने, 'हिरोईन भने नयाँ नपाए पूरानै पनि लिन सक्छु ।' चलचित्र 'बडिगार्ड' को निर्देशन राजेन्द्र उप्रेतिले गर्दैछन् ।