सोमबार राजधानीको कमलादी स्थित गणेश मन्दिरमा सामान्य पूजाआजा गरेर चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को युनिट सिन्धुपाल्चोकको मुडे भन्ने स्थान पुगेको छ । करिब आठ दिनका लागि सोमबार मुडे पुगेको चलचित्र युनिटले मंगलबारबाट छायाँकन शुरू गरेको छ ।
कृषा चौलागाईंको निर्माणमा सबिर श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ''के म तिम्रो साथी बन्न सक्छु' को छायाँकन शुरूवात द्वन्दको दृश्यबाट गरिएको छ । चलचित्रको अन्तिम द्वन्द अर्थात क्लाईमेक्सबाट छायाँकन प्रारम्भ गरिएको सो चलचित्रको द्वन्द निर्देशन रोशन श्रेष्ठले गर्दैछन् । आर्यन सिक्देल, दिप्ती गिरी, शिशिर राणा, दिनेश थापा, रमेश थापा, संदिप सापकोटा लगायतले चलचित्रमा अभिनय गर्दैछन् । यस चलचित्रबाट नायिकाको रूपमा दिप्ती गिरीले डेब्यू गर्दैछिन् ।
मुडेमा द्वन्द र गीतको छायाँकन सकेर युनिट काठमाण्डौ फर्कने भएको छ । काठमाण्डौमा चलचित्रको अधिकांश भागको छायाँकन सकेर युनिट फिक्कल पनि पुग्नेछ । रेड-4 क्यामेराले छायाँकन गरिएको सो चलचित्रमा शिब ढकालको छायाँकन, समन अधिकारीको नृत्य, दिनेश सुनामको संगीत, प्रमोद ढुंगानाको गीत रहेको छ भने चलचित्रको कथा शिबम् अधिकारीले लेखेका हुन् ।
सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण गर्न लागिएको सो चलचित्रलाई कृषा प्रोडक्सनले निर्माण गर्न लागेको हो । फिल्मीखबर डटकम यस चलचित्रको मिडिया पार्टनर रहेको छ । चलचित्रको फस्ट लुप फिल्मीखबर डटकमबाट पहिलो पटक सार्वजनिक गरिएको छ ।