साहित्यिक कृतिमाथि चलचित्र बनाउनु त्यति सजिलो नभए पनि कृति माथि चलचित्र बन्ने क्रम भने जारी छ र यहि क्रमलाई निरन्तरता दिएका छन् कलाकार तथा निर्देशक निर शाहले । साहित्यकार स्वर्गीय गोपालप्रसाद रिमालको साहित्यिक कृति नाटक 'मसान' मा आधारित रहेर उनले चलचित्र 'मसान' को निर्देशन गर्ने भएका छन् ।
यसअघि वासुदेव, बसन्ती जस्ता साहित्यिक कृति माथि चलचित्र बनाएका शाहले ति चलचित्रबाट राम्रो जस पाएका थिए । राम्रोका बिचमा केही नराम्रो हुन्छ भनेझै उनले ति चलचित्रमा केही त्रुटी रहेको भन्दै विगतका ति गल्तीहरुलाई यसमा सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । कलात्मक चलचित्र बनाउन लागेको बताउने शाहले यसअघिका चलचित्रमा ब्यवसायिकता झल्कीएको भन्ने प्रंसगहरु उठिरहँदा यो चलचित्र कलात्मक भनेकाले कलाकै लागी भएको बताएका छन् । यसमा कुनै मसाला नमिसाउने बताउदै उनले सिनेम्याटिक कम्प्रोमाइज पनि नगर्ने दाबि गरे ।
शुद्ध आर्ट चलचित्र बनाउन लागेको बताउने शाहले त्यही किसिमका दर्शकलाई लक्षित गरेर चलचित्र बनाउन लागेको जनाएका छन् । चलचित्र झण्डै दुई घन्टाको भए पनि गीत फाइट जस्ता मसला नराख्ने उनको भनाई छ । कृतिको छनौटबारे प्रष्ट पार्दै उनले भने, 'यसमा उत्कृष्ट कलात्मक चलचित्र बन्ने गुण भएकोले यो कृति छनौट गरिएको हो ।' असारको पहिलो साताबाटसुटिङ शुरु हुने बताईएको सो चलचित्रमा राजवल्लभ कोइराला, केकी अधिकारी, नीता ढुंगाना, दिनेश डिसी, सुभद्रा अधिकारी, श्याम राई, केशव भट्टराई, राजाराम पौडेल लगायत कलाकार अनुबन्धित भएका छन् । चलचित्र नीर सिनेमा प्रालि र रिमाल इन्टरप्राइजेज अमेरिकाको संयुक्त लगानीमा चलचित्र निर्माण गर्न लागीएको हो ।