चलचित्र 'दुलही' ले राम्रो ब्यापार गरे पछि सँगै चलिरहेको सम्बन्धित चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको पोष्टर च्यात्ने र त्यहि पोष्टर माथी अर्को पोष्टर टाँस्दै हिंडेको दुलहीको निर्माण पक्षले आरोप लगाएको छ । शुक्रबार टाँसिएका अधिकांश पोस्टरहरू च्यातिएको निर्देशक बाबुराम ढकालले बताए ।
देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'दुलही' ले राम्रो व्यापार गरेपछि त्यसको रिसले पोस्टर च्यातिएको र केहि ठाउँमा आफ्नो पोस्टर माथि उनीहरूको चलचित्रको पोस्टर टाँसिएको निर्देशक ढकालको भनाई छ । उनी भन्छन्, 'मेरो चलचित्रको प्रचारप्रसार देखेपछि आफ्नो चलचित्रलाई असर गर्छ भनेर पोस्टर च्यातिएको हुनसक्छ ।'कस्ले च्यात्यो त पोस्टर ? निर्देशक ढकाल भन्छन्, 'यहि मान्छे भनेर त म भन्न सक्दिन तर चलचित्रको व्यापार राम्रो भएको देखेर रिसले खै कस्ले च्यातेछ कुन्नि !'
अहिले राजधानीमा बिशेष गरी दुई चलचित्र रिलिज भएका छन् । क्यू सिस्टमबाट केशब भट्टराईको चलचित्र छोडि गए पाप लाग्ला र हर्षिता केसीको दुलही राजधानीका प्रमुख हलहरूमा प्रदर्शन भईरहेका छन् । त्यसो भए यो रिस छोडि गए पाप लाग्ला युनिटको हो त ? चलचित्रका निर्माता केशब भट्टराई यो कुरामा सहमत छैनन् । उनी भन्छन्, 'म कसैको चलचित्रको पोस्टर च्यात्न हिंडेको पनि छैन र कसैलाई च्यात्न लगाएको पनि छैन ।'
निर्माता केशब भट्टराईले पनि आफ्नो चलचित्रको व्यापार राम्रो भईरहेको र आफ्नो दुस्मनी कसैसँग नरहेको भन्दै सफाई दिएका छन् । उनी भन्छन्, 'म कसैसँग दुस्मनी लिन चाहन्न । किनकी चलचित्र क्षेत्रमा काम गरेर खाने अधिकार मेरो मात्र छैन ।' केशबले आफू दोसी नभएको स्पष्ट पारेपछि पोस्टर कस्ले च्यात्यो भन्ने कुरा निकै गहिरो छ । आखिरमा को हो त दुलहीको दुस्मनी ? कस्ले देख्न सकेन दुलहीको सफलता ? कतै यो चलचित्र चलाउने प्रोपोकाण्ड त हैन ? यदि हो भने यस्तो सस्तो प्रचारप्रसार नगरेकै राम्रो । किनकी चलचित्र राम्रो भएपछि दर्शक हलसम्म आईहाल्छन् नि !