'निशाना' बाट निर्देशन यात्रा शुरू गरेका युवानिर्देशक सुरेशदर्पण पोखरेलले पछिल्लो समयमा 'मिस यू' नामक चलचित्र निर्देशन गरेर राम्रै चर्चा पाए । नायक दिलिप रायमाझीले निर्माण गरेको सो चलचित्र रिलिज पूर्व नै हिट भईसकेको सञ्चारमाध्यम र दर्शकहरूमाझ चलेको हल्लाले देखाएको छ । 'मिस यू' एक फरक चलचित्र निर्माण गरेको दाबी गर्ने निर्देशक सुरेश अहिले नयाँ चलचित्र निर्देशनको तयारीमा छन् ।
बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको लगानीमा सुरेशले 'थ्री लभर्स' नामक चलचित्र निर्देशन गर्ने भएका छन् । थ्री ब्रदर्श क्रियशनको प्रस्तुती रहने सो चलचित्रमा तीन कलाकारको मुख्य भुमिका रहने निर्देशक पोखरेलको भनाई छ । तर चलचित्रमा अभिनय गर्ने कलाकारको नाम भने फाईनल भईनसकेको निर्देशक पोखरेलले बताए । युवापुस्तालाई मध्यनजर गरेर निर्माण गर्न लागिएको चलचित्र 'थ्री लभर्स' को कथा शिबम् अधिकारीले लेख्दै गरेको पनि उनले बताए ।
अहिले निर्देशक पोखरेल कलाकारको खोजीमा छन् । सम्भवत चलचित्रको नायक मध्ये एक आर्यन सिक्देल हुनेबुझ्नमा आएको छ तर निर्देशक पोखरेलले भने अझै कोही कलाकार फाईनल नभएको र खोजी गरिरहेको बताए । सस्पेन्स प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रको अहिले संगीतको पनि काम शुरू गरिदै छ । चार वटा सम्म गीत राख्ने तयारी गरिएको भन्दै सुरेशले एउटा गीतमा बाबु बोगटीको संगीत रहने पक्का भएको जानकारी दिए । बाँकी तीन गीत कस्लाई दिने भन्ने बारे अझै केहि निर्णय नभएको उनले बताए ।
हाल पोस्टप्रोडक्सनमा रहेको चलचित्र 'मिस यू' को अगस्ट महिनामा बेल्जियममा रेड कार्पेट प्रिमियर गर्ने तयारीमा रहेका निर्देशक सुरेशले सोही बेला नै बेल्जियम र आसपासका स्थानमा चलचित्र 'थ्री लभर्स' को केहि भागको छायाँकन गर्ने जानकारी गराए । युरोपमा केहि भागको छायाँकन गरेपछि नेपाल आएर बाँकी भागको छायाँकन गर्ने उनको भनाई छ ।