चलचित्र प्लानको युनिट सिक्किममा छायाँकन सकेर काठमाण्डौ आइपुगेको छ । झण्डै एक हप्ताको सिक्किम बसाईमा सिक्कमका रमणिय दृष्यहरु क्यामरामा कैद गरेर २२ जनाको टोली बुधबार बिहान काठमाण्डौ फर्कीएको हो ।
डिजेहरुको अर्न्तद्धन्द्धलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरीएको यस चलचित्रमा काठमाण्डौबाट भागेर सिक्कम पुग्नु पर्ने दृष्य रहेकोले कथाले मागे अनुसारकै लोकेशनमा चलचित्रको सुटिङ गरीएको चलचित्रका डिजे नायक मुकेश ढकालले जानकारी दिए । सिक्कमको ज्यान्तोकमा बसेको यो टोलीले ज्यान्तोक र आसपासका बिभिन्न स्थानहरुमा एक गीत र केहि ७/८ सिन खिचेको बताउने नायक ढकालले त्यहाँको बातारबरणमा काम गर्दा बेग्लै आनन्द मिलेको बताए । फिल्मीखबरसँग कुरा गर्दै मुकेशले भने, 'जता हेरे पनि उस्तै राम्रो लोकेशन त गजबै रैछ ।' सिक्किमको हावापानीले लोभ्याएको बताउँदै मुकेश थप्छन्,'पार्क, मन्दिर, बाटो, मौसम सबै सफा । सधैं त्यहिं बसिरहुँजस्तो ।'
एक हप्ताको बसाई पछि काठमाण्डौ आएको सुटिङ युनिटले शुक्रबारबाट बाँकी छायाँकनलाई अगाडी बढाएको छ । अहिले सो चलचित्रको टिकाथली स्थित बोगटी स्टुडियोमा छायाँकन भईरहेको चलचित्रका अर्का नायक ध्रुव न्यौपानेले जानकारी दिए । यता चलचित्रका निर्देशक बस्नेतले सिक्किममा छायाँकन गर्दा सहयोग पुर्याउने नायिका रूष्मा राई सहित राजेन्द्र, महेन्द्र र बबीलाई बिशेष धन्यबाद समेत दिएका छन् । सिक्किममा सुटिङ गर्न निकै गार्हो काम भएकाले उनीहरूको सहयोग बिना सुटिङ गर्न नसकिने भन्दै सहयोगका लागी धन्यबाद दिएका छन् ।
सलोन फिल्म्सको व्यानरमा कविता श्रेष्ठले निर्माण शुरू गरेको चलचित्र 'प्लान' मा राजेश हमाल, मुकेश ढकाल, अनुष्का ढकाल, रागिनी खड्गी, सुनिल थापा, मोहन निरौला, शोभित बस्नेत, ध्रुव न्यौपाने, अनिता दाहाल लगायतले अभिनय गर्दैछन् । चलचित्रमा दिनेश न्यौपानेको लेखन, राजेन्द्र खड्गीको द्वन्द, प्रमोद ढुंगानाका गीत, राम श्रेष्ठको संगित, शिव बिकको नृत्य तथा कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।