चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष अमर राज गिरीले अहिलेको बोर्डले गरेका निर्णयहरु बारे आफु अनबिज्ञ रहेको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै पूर्व अध्यक्ष गिरीले आफुलाई केही दिनदेखि यूरिक एसिड बढेका कारण घरैमा आराम गरिरहेको बताउँदै भने, 'बोर्डले के निर्णय गरेको छ मलाई केहि थाहा छैन ।'
बिभिन्न सञ्चार माध्यमले समाचार समेत सार्वजनिक गरिसकेको अवस्थामा गिरी अनबिज्ञ रहेको कारण प्रति चासो ब्यक्त गर्दा उनले आफुसँग सरोकार रहने बिषय भएपनि आफुले जानकारी राख्न नसक्दा दुख प्रकट गरे । पूर्व अध्यक्षको नाताले अहिलेको बोर्डले आफुसँग निर्णय प्रक्रियाका बारेमा कुनै छलफल नगरेको गुनासो गर्दै गिरीले अध्यक्ष गणेश भण्डारीलाई सफलताको शुभकामना समेत दिए ।
आफ्नो पालामा लोकेशन गाइडको अवधारणा अगाडी सारेको बताउदै उनले अहिलेको बोर्डलाई त्यो काम पुरा गर्न आग्रह समेत गरेका छन् । नेपालमा चलचित्र छायाँकनका लागी कयौ नयाँ लोकेशनहरु छन् जसलाई हामीले पहिचान गर्न नसकिरहेको भन्दै गिरीले कति लोकेशनको पहिचान भए पनि सदुपयोग गर्न नसकेकोले लोकेशन गाइड अति आवश्यक रहेको बताए । बोर्ड सञ्चालनको स्पष्ट कार्यबिधि नहुँदा निर्णय लिन गाह्रो पर्ने गरेको स्मरण गर्दै उनले बोर्ड सञ्चालनको स्पष्ट निति बनाउन आफु र आफु अघिका अध्यक्षहरु लागीपरेको स्मरण गर्दै अहिलेको नेतृत्वलाई त्यस तर्फ कदम अगाडी बढाउन आग्रह गरेका छन् ।
बोर्डमा राजनितिक नियुक्तिका कारण कुनै पनि नेतृत्वले अगाडी सारेका कामहरुलाई पूर्णता दिन नपाउने गरेको भन्दै उनले आफुले आफु भन्दा अगाडीको नेतृत्वले अगाडी सारेका राम्रा कामलाई निरन्तरता दिएको बताए । बोर्डमा जसले नेतृत्व गरेपनि चलचित्र क्षेत्रकै विकासमा समर्पित हुनुपर्ने भन्दै उनले अहिलेको नेतृत्वलाई पनि आफुले अगाडी सारेका कामहरुलाई निरन्तरता दिने परिपाटीको विकास गर्न आग्रह गरे ।
बिदेशी चलचित्रको प्रदर्शनलाई व्यवस्थित गर्न नसक्दा नेपाली चलचित्रको प्रदर्शनमा असर परिरहेको बताउदै पूर्व अध्यक्ष गिरी अघिल्लो अहिलेको बोर्डले त्यस तर्फ पनि कदम अगाढी बढाउन अनुरोध गरेका छन् । आफु बिरामी परेको बताउने गिरीले बोर्डको अध्यक्ष पदबाट राजीनामा दिए पछि अहिले साहित्य क्षेत्रमा नै सक्रिय भएको जानकारी दिए । साहित्यको माध्यमबाट पनि चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सकिन्छ भन्ने मान्यता राख्ने गिरीलाई फिल्मीखबरको तर्फाबाट शिघ्र स्वास्थ्य लाभको कामना !