एकै ठाउँमा १६ जना कलाकार त्यो पनि नयाँ देखि पुराना सम्मका साथमा वरिपरि दर्शकहरूको घुईंचो । लाग्थ्यो सिंगो चलचित्र उद्योग नै एउटै सेटमा छ । यो अनुभुति थियो निर्देशक सुदर्शन थापाको । उनले चलचित्र 'के यो माया हो' को छायाँकनका समयमा यस्तो महशुस गरे ।
चलचित्र 'के यो माया हो' को छायाँकन पोखरा र जोमसोममा गरिएको थियो । छायाँकनको क्रममा प्राय दिनहरुमा कम्तिमा पनि ५-६ जना कलाकार सेटमै हुने जानकारी दिदै उनले छायाँकनका दिनहरू रमाईलो वातावरणमा सकिएको बताए । दर्शकहरूको उल्लेख्य उपस्थितीमा चलचित्र उधोगका १६ जना हस्तिहरूलाई सेटमा राखेर काम गर्नु आफ्नो लागी चुनौती रहेको भन्दै उनीहरूबाट धेरै कुरा सिक्ने मौका पाएको निर्देशक थापाले बताए ।
छायाँकनका लागी निकै लामो समय लागे पनि आफुले कुनै दिन असहज महशुस गर्न नपरेको बताउदै अनुभवी कलाकार देखि नयाँ कलाकार सबैलाई आफुले कथाले चाहे अनुसार नै पर्दामा उतार्न सफल भएको बिश्वास थापाको छ । चलचित्रमा कलाकारलाई कसरी अभिनय गराउने भन्ने निर्देशकको खुबिमा भर पर्ने भन्दै उनले त्यो खुबी पर्दामा देख्न सकिने दाबी गरे ।
चलचित्रमा आर्यन सिग्देल, सुष्मा कार्की, अरुणिमा लम्साल, सौगात मल्ल, तृप्ती नाड्कार, किरण केसी, निर शाह, केशब भट्टर्राई, राजाराम पौडेल, कमल मैनाली, सबिता गुरुङ, हेमन्त राना लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कोही हाँस्य कलाकार त कोही पुराना तथा कोही नयाँ सबै कलाकारहरु एकै ठाउँमा हुँदा रमाइलो हुने गरेको भन्दै उनले फरक फरक बाटोमा हिड्ने कलाकारलाई आफुले चलचित्र 'के यो माया हो' को बाटोमा हिडाउन सफल भएको बताए ।
एसजीएस ईन्टरटेनमेण्टको प्रस्तुती रहेको चलचित्र 'के यो माया हो' काठमाण्डौमा बढ्दै गरेको लिभिङ्ग टुगेदरको फेसनलाई आधार मानेर निर्माण गरिएको छ । लिभिङ टुगेदर पश्चिमाहरुको संस्कृति भएको र यसले नेपाली संस्कृतिमा समेत नजानिदो पाराले जरा गाड्दै गएको भन्दै लिभिङ टुगेदरको समस्यालाई पर्दा मार्फत प्रस्तुत गर्न खोजिएको निर्देशक थापाले जानकारी दिए । सुरेश पहारी, गौरव हिराचन र शंकर गुरुङले निर्माण गरेको चलचित्र के यो माया हो साउन २० गते बाट देशभर एकसाथ रिलिज हुदै छ ।