सुटिङ्ग हुँदा होस् या नहुँदा म सधै बिहान ठीक ६ बजे उठ्छु । उठिसकेपछि मलाई फ्रेस हुन ठ्याक्कै एक घण्टा लाग्छ । त्यही समयमै म नुहाउँछु । म दैनिक नुहाउन छुटाउँदिन । केही कारणवस नुहाउन पाइन भने मलाई दिनभरी नै अल्छी लाग्छ । नुहाए पछि म बिहान सात बजेको समयमा पूजापाठ गर्न पूजा कोठा जान्छु । पूजा गर्न पनि मैले कहिल्यै छुटाउँदिन । पूजा गर्नु र नुहाउनु भनेको मेरो नियमित नछुट्ने क्रियाकलाप हुन् ।
पशुपतिको नजिकै गौरी घाटमा मेरो घर छ । उता पशुपतिमा पनि बिहानै घण्टा बजाएर पूजा गरिन्छ भने म पनि घरमै घण्ट बजाएर पूजा गर्छु । पूजामा पनि मैले करिब एक घण्टा समय बिताउँछु । पूजा सकेर म नास्ता खान तर्फ लाग्छु । हामी काठमाडौंमा श्रीमती रेखा जी, म र एक जना एसिस्टेण्ट गरेर तीन जना छौं । मेरी आमा पनि हुनुहुन्छ उहाँ चाहिं पुरानो घर धरान मै हुनुहुन्छ । एसिस्टेण्टले चिया बनाएर ल्याइदिनु हुन्छ । चिया खान्छु, नास्ता भने म खासै खान्न । छ भने एक गिलास दूध पिइदिन्छु नभए फलफुलहरू खान्छु र त्यसै समयमा म पत्रपत्रिकाहरू पढ्छु र टि.भी. पनि यसै समयमा हेर्छु । टि.भी. हेर्दा म प्राय फिल्महरू हेर्छु ।
बिहान साढे नै बजेसम्ममा खाना खाईसकेको हुन्छु । खानामा म प्रायः साग सब्जीहरू बढी मन पराउँछु । मलाई भेजिटेरियन बढी मन पर्छ । माछामासुहरू त्यति रूचाउँदिन । माछा, मासुहरू ड्रिङ्क्स गर्ने बेलामा मात्रै खान्छु । ड्रिङ्क्स पनि त्यति धेरै गर्दिन । सातामा एक दुई पटक मात्र ड्रिङ्क्स गर्छु । खाना खाएपछि एकैछिन रेस्ट गरेर म अफिस (रेखा फिल्म्स) तिर लाग्छु । अफिसमा गएर अफिसको कामहरू गर्छु । दिउँसो तीन देखि पाँच बजेको बिचमा मैले नास्ता गर्छु । नास्तामा म त्यस्तो चुजी छैन । नास्ता जे भएपनि म खान्छु । अफिसबाट साँझ ६/७ बजेतिर घर र्फकन्छु ।
घर आएपछि एकैछिन रेस्ट गर्छु अनि टि.भी. हेर्छु । साँझमा म प्राय न्यूज च्यानलहरू हेर्छु । साढे आठ/नौं बजेको समयमा म डिनर लिन्छु । डिनर लिएपछि एकैछिन केही न केही गरी समय बिताउँछु । अनि अंग्रेजी चलन अनुसार १० बजे नै सुत्न गइसक्छु किनकी त्यो समयमा सुत्न पाइन भने मेरो निन्द्रा नै पुग्दैन । आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम भने अनुसार मलाई पनि आठ घण्टा त सुत्नै पर्छ ।
सुटिङ्ग भएको समयमा भने मेरो दैनिकी अलि फरक हुन्छ । उठ्ने समय त मेरो सधै ६ बजे नै हो । सुटिङ्गको समयमा फ्रेस हुन धेरै समय खर्च गर्दिन । म एकैछिन मै नुहाएर फ्रेस भएर पूजापाठमा लाग्छु । पूजापाठ सकेर सात बजेतिर म सुटिङ्गमा हिडी सक्छु । साढे सात बजेको समयमा त म सुटिङ्ग स्थलमा पुगिसकेको हुन्छु । अहिले रेखा फिल्मसको प्रस्तुती चलचित्र 'अन्दाज' को सुटिङ्गको क्रममा काठमाडौंमा छु । अब केहि दिन काठमाण्डौमा सुटिङ गरि हामी थप सुटिङका लागि जोमसोम तिर लाग्दैछौं । जोमसोमको सुटिङ्ग सकेपछि हाम्रो चलचित्रको सुटिङ्ग पनि सकिन्छ ।
सुटिङ्गको समयमा बिहान नौ/साढे नौं बजेतिर नास्ता लिन्छु । खाना त त्यही १ देखि दुई बजेको बिचमा हुन्छ । खाना खाएर एकैछिन रेस्ट गर्छु । यही समयमै सुटिङ्ग युनिटसँग रमाइलो गफगाफ पनि हुन्छ । सुटिङका बेला दिउँसोको खाजा खासै खाईदैन । एकैपटक सुटिङ प्याकअप गरेर खाना खाईन्छ । सुटिङ्गबाट प्राय साँझ सात बजेसम्म घरमा फर्किसकेका हुन्छौं तर कहिलेकाहि भने चलचित्रको कथा अनुसार पुरै रातभरी पनि सुटिङ्ग गर्नुपर्ने हुन्छ । त्यो समयमा भने खानपिन सबै सुटिङ्ग स्थल मै हुन्छ । साँझ सात बजे घर फर्किएपछि टि.भी.मा मुभीहरू हेर्छु अनि खाना खाएर १० बजे सुत्न पुगिसक्छु ।