नायक आर्यन सिक्देललाई महंगो नायक बनाउने निर्देशक हुन् दिपेन्द्र के. खनाल । उनले निर्माण गर्ने भनेको चलचित्र 'काठमाण्डू नाईट' मा आर्यनलाई ६ लाखमा अनुबन्धित गरेको भनेर निकै हल्ला खल्ला चल्यो । कलाकारले पाउने रकम मध्येको अहिले सम्मकै धेरै भनेर प्रचार प्रसार पनि भयो । तर दुर्भाग्य आर्यनले त्यो चलचित्र गर्न पाएनन् । यानकी चलचित्र 'काठमाण्डू नाईट' तत्काल नबन्ने भएको छ ।
'काठमाण्डू नाईट' नबनेपछि निर्माता कृषा चौलागाईंले आफ्नो चलचित्रमा आर्यनलाई ६ लाखमा अनुबन्धित गरेर सुटिङ पनि शुरू गरिन् । त्यसैले आर्यनले मोटो रकम लिएर अभिनय गरेको पहिलो चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' बनेको छ । अहिले सो चलचित्रको काठमाण्डौको अनामनगर स्थित नूतन स्टुडियोमा धमाधम सुटिङ भईरहेको छ । जुन चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरिरहेका छन् ।
नायक आर्यनलाई ६ लाख दिईयो भनेर निर्मातालाई गाली गर्ने पनि धेरै छन् तर उनको मेहनत अनुसारको यो रकम धेरै नभएको केही चलचित्रकर्मी बताउँछन् । एक पटकमा एउटा चलचित्रमा मात्र ध्यान केन्द्रित हुने नायक आर्यनलाई ६ लाख दिन कुनै कञ्जुस्याईं गर्न नहुने निर्माता कृषा चौलागाईं भनाई छ । उनी भन्छिन्, 'उहाँको अभिनय कला र काम प्रतिको लगावलाई हेरेर नै मैले ६ लाख दिएकी हुँ ।' आफूले निर्देशन गरेको पहिलो चलचित्र 'कस्ले चोर्यो मेरो मन' मा आर्यनसँग काम गरेका निर्देशक सबिर श्रेष्ठले पनि आर्यनको प्रशंसा गरे । उनले भने, 'कस्ले चोर्यो मेरो मन' मा आर्यनको काम देखेर नै हामीले मागे जति रकम दिएका हौं ।'
कुनै समय राजेश हमाल, बिराज भट्ट र निखिल उप्रेती निर्माताको रोजाईमा परेका थिए तर अहिले निर्माताको पहिलो रोजाई आर्यन नै बनेका छन् । 'किस्मत' चलचित्रबाट डेब्यू यि नायकले अभिनय गरेका अधिकांश चलचित्र सफल छन् । त्यसैले पनि टाउकोले फिल्म चलाउनु भन्दा पनि चलचित्र भित्रको पात्रले चलचित्र चलाउनु पर्छ भन्ने मान्यता राख्नेहरू आर्यनलाई छोड्न चाहन्नन् । त्यसैले पनि होला आर्यनले यो मौकाको फाईदा उठाएर आफ्नो रेट बढाएको ।
'घाँटी हेरि हाड निल्नु' उखानलाई सम्झदै आर्यनले अब भने आफ्नो रेट बढाउँदा एक पटक नेपाली चलचित्रको अवस्था बिचार भने गर्नै पर्छ होला । कि कसो ?