नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धि र समृद्धिमा टेवा पुर्याउने उद्देश्यले सञ्चालित गोपीकृष्ण इन्टरटेनमेन्ट प्रा.लि.को टिभी फिल्मीले चलचित्रमा आबश्यक कलाकारको परिपूर्ती गर्न 'को बन्छ कलाकार' नामक कार्यक्रम प्रारम्भ गरेको छ । नेपालको पहिलो र एकमात्र फिल्मी च्यानल "टिभी फिल्मी" ले प्रतिभा भएर अवसर खोजिरहेका व्यक्तिहरुलाई उचित मञ्च प्रदान गर्न यो अभिनय शुरु गरेको हो ।
नेपाली टेलिभिजन च्यानलहरुको भीडमा आफ्नो छुट्टै पहिचान बनाएको यस टिभी फिल्मीले 'को बन्छ कलाकार' मार्फत पूर्व मेची देखि पश्चिम महाकालीसम्म लुकेर बसेका क्षमतावान व्यक्तिलाई उचित स्थान दिई गोपीकृष्ण मूभिजको आगामी चलचित्रमा स-सम्मान स्थान दिने निर्णय गरेको छ । 'को बन्छ कलाकार' मा नायक , नायिका, खलनायक , हास्यकलाकार , चरित्र अभिनेता , चरित्र अभिनेत्री, बालकलाकार गरी सात बिधामा प्रतिस्पर्धा गराइने भएको छ ।
काठमाडौंमा गोपीकृष्ण मूभिजमा स्टल राखी यसको फारम वितरण गरिएको छ भने मोफसलमा अन्नपूर्ण टाकिज बिर्तामोर्ड, शिव सिनेमा धरान , पाथीभारा चलचित्र मन्दिर दमक, अरुण सिनेमा बिराटनगर, सत्या सिनेमा बिरगंज, नारायणी चलचित्र मन्दिर चितवन र इन्द्रदेव चलचित्र मन्दिर नारायणगढ, पूणिर्मा चलचित्र मन्दिर पोखरा, मिलन चलचित्र मन्दिर बुटवल, गौतम बुद्ध चलचित्र मन्दिर तौलिहवा, निमा चलचित्र मन्दिर दाङ्ग, लक्ष्मी चलचित्र मन्दिर सुर्खेत, बागेश्वरी चलचित्र मन्दिर नेपालगंज र चन्दन टाकिज धनगढीबाट अडिसन फारम वितरण भइरहेको छ ।
उल्लेखित स्थानहरुमा नै पहिलो चरणको अडिसन लिई त्यसबाट छानिएकालाई काठमाडौ बोलाएर काठमाडौमा अन्तिम प्रतिस्पर्धा गराईने टिभी फिल्मीकी प्रबन्ध निर्देशक निकिता श्रेष्ठले जानकारी गराईन् । यस प्रतियोगिताको निर्णायकमा नेपालका ख्याती प्राप्त कलाकारहरूलाई राखिने निकिताको भनाई छ ।