काठमाण्डौ उपत्यकामा रहेको हलहरू मध्ये सबैभन्दा बढि व्यापार गर्ने हलको रूपमा चिनिएको बालाजु स्थित अष्टनारायण हलमा पहिलो पटक रेड कार्पेट प्रिमियर गरिएको छ । स्थापनाको एक दशक समय बिताईसकेको सो हलमा आज शुक्रबार रिलिज भएको चलचित्र 'किन मायामा' को प्रिमियरमा रेड कार्पेटको प्रयोग गरिएको हो ।
यस हलमा यस अघि थुप्रै चलचित्रको प्रिमियर गरिएको भएपनि रेड कार्पेट प्रिमियर भने यो पहिलो पटक रहेको हल सञ्चालक त्रिरत्न मानन्धरले जानकारी गराए । चलचित्र 'किन मायामा' को युनिटले रेड कार्पेट प्रिमियर गर्ने बताएपछि आजै कार्पेट किनेर ल्याएको बताउँदै मानन्धरले भने, 'रेड कार्पेटको प्रयोग गर्दा हलको शोभा पनि बढ्दो रहेछ । अब देखि निर्माताहरूलाई रेड कार्पेटमा प्रिमियर गर्न म आँफै आग्रह गर्छु ।' यस अघि कुनै पनि निर्माताले रेड कार्पेट प्रिमियर गर्न आग्रह नगरेकोले कार्पेट पनि नकिनेरै बसेको मानन्धरको भनाई छ ।
अष्टनारायण हल काठमाण्डौ उपत्यकाको कुनामा रहेपनि कलेक्सनमा सबैभन्दा अगाडी रहेकोले यो हल अहिले निर्माताहरूको पहिलो रोजाई बनेको छ । तीन वटा पर्दा जडित सो हलमा चलचित्रको प्रिमियर भने कमै मात्र हुने गर्दछ । स्थापनाको केहि बर्षसम्म हिन्दी चलचित्र पनि चलाउँदै आएको सो हलमा अहिले नेपाली चलचित्र मात्र प्रदर्शन हुने गरेको छ । त्यसैले पनि यो हल निर्माताहरूको पहिलो रोजाईमा परेको बुझिन्छ ।