नेपाल चलचित्र बिकास बोर्डले आफ्नो ११ औं बार्षिकोत्सव मनाउने भएको छ । बोर्डको प्रेक्षालय चावहिलमा यहि शुक्रबार साँझ ५ बजे एक बिशेष कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाउन लागिएको हो ।
माननीय सूचना तथा सञ्चार मन्त्री अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा हुन लागेको सो कार्यक्रममा बोर्डले शुभकामना आदान प्रदान तथा बोर्डको स्वायत्तता विषयक अर्न्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । अधिकांस चलचित्रकर्मीहरूको उपस्थिती रहने सो कार्यक्रममा रात्रि भोजको समेत व्यवस्था गरिने बताईएको छ ।
चलचित्र बिकास बोर्ड र सेन्सर बोर्डलाई स्वायत्त बनाउने बिषयमा हुन लागेको सो अर्न्तक्रिया कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरूले स्वायत्तताका बारेमा छलफल गर्नेछन् । यसअघि चलचित्र क्षेत्र भन्दा बाहिरका व्यक्तिहरू बोर्डको अध्यक्ष भईरहेको अवस्थामा बोर्ड स्वायत्त भएमा अध्यक्ष चलचित्र क्षेत्रका व्यक्ति नै हुनेछन् भने चलचित्र सम्बन्धी सम्पूर्ण समस्याहरू बोर्डमा नै समाधान गरिने छ ।
यस अघि आफ्नो चलचित्रलाई सेन्सर गर्न मन्त्रालय धाउनु पर्ने समस्याबाट गुज्रिरहेका चलचित्रकर्मीहरू सेन्सर बोर्ड पनि स्वायत्त भए सेन्सर बोर्ड चलचित्र बिकास बोर्डको मातहतमा सञ्चालन हुने र सेन्सर गर्न सिंहदरवारको गेटमा घण्टौ कुर्नुपर्ने समस्याबाट चलचित्रकर्मीहरूले मुक्ति पाउनेछन् । बिषयमा बोर्डको शुक्रबार हुन लागेको बार्षिकोत्सव कार्यक्रममा छलफल गरिने छ ।