चलचित्र च्यालेञ्जको रेड कार्पेट प्रिमियर यहि जुलाई ३ तारिखका दिन अमेरिकाको वासिङटन डिसीमा गरिने भएको छ । अमेरिकन नेप्लीज एसोसिएशन (ए.एन.ए) ले जुलाई १ देखि ३ सम्म आयोजना गरेको ए.एन.ए कन्भेन्सनमा सहभागी हुन बुधबार ३ बजे अमेरिका प्रस्थान गरेका चलचित्रका प्रस्तुतकर्ता तथा नायक रेश मरहठ्ठाले कन्भेन्सनको अन्तिम दिन च्यालेञ्जको प्रिमियर गरिने बताए ।
चलचित्रका निर्माताद्वय रेश मरहठ्ठा र माधब ढकाल गैह्र आवासिय नेपाली भएका कारण एनआरएनको पहलमा वासिङटनमा प्रिमियर गर्न लागीएको रेशको भनाई छ । चलचित्र च्यालेञ्ज एनआरएनहरूलाई देखाएर नेपालमा पनि राम्रा र स्तरीय चलचित्र बनाउन सकिन्छ भन्ने कुरा बिश्वास दिलाउन पनि यो चलचित्र अमेरिकामा प्रिमियर गर्न लागेको उनको भनाई छ । भ्वाईस इन्टरटेनमेन्टको ब्यानरमा भट्टराईले निर्देशन गरेको सो चलचित्रको प्रिमियरको टिकट अग्रिम बुकिङ समेत भईसकेको रेशले बताए ।
अमेरिका साथै स्वदेशका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको चलचित्र च्यालेन्जमा १ सय ५० बर्ष अघि नालापानी युद्धमा नेपाली सैनिकको गोप्य दस्तावेज बेलायती सेनाले लगेको बिषयलाई रोचकताको साथ प्रस्तुत गरिएको बताइएको छ । रेश मरहठ्ठा, आयुष रिजाल, रेखा थापा र खुस्बु न्यौपानेको साथमा करिब १८ जना बिदेशी नागरिकले समेत अभिनय गरेको सो चलचित्र नेपालमा प्रदर्शन हुन भने केहि महिना कुर्नुपर्ने छ ।