नायक राजेश हमाल बाक्लो जुँगा सहित धोती-कुर्ता, जुवारी कोट, काँधमा गलबन्दी र झोला, हातमा छाता, खुट्टामा चप्पल अनि पान चपाउँदै थोत्रो स्कुटरमा चढेर हँसाउन आउँदैछन् । अर्थात फरक गेटपममा प्रस्तुत भएर अभिनय गरेको हमालको चलचित्र 'हात लाग्यो शून्य' यहि साउन महिनाको पहिलो या दोस्रो साता सार्वजनिक हुने करिब पक्का पक्कि भएको छ ।
प्रदर्शनको समय नजिकिंदै गर्दा निर्माण युनिटले चलचित्रको प्रचार प्रसारलाई तिब्र पारेको छ । बिजय बिक्रम बस्नेत निर्देशित चलचित्र 'हात लाग्यो शून्य' एक 'सिचुअसनल कमेडी' चलचित्र हो । जहाँ महानायक धनाढ्य तर मख्खीचुस मधेसी पात्रको भूमिकामा प्रस्तुत भएका छन् । फरक गेटपममा प्रस्तुत भएर पर्दामा देखिन लागेका हमालले मुख बिगरेर हैन कि आफ्नो लवाइखवाइ, हाउभाउ र जीवनशैलीले दर्शकलाई हँसाउने निर्देशक बस्नेत बताउँछन् ।
श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'हात लाग्यो शून्य' लाई बिश्व नेपालले प्रस्तुत गरेका हुन् भने निर्माताको रूपमा शुभकृष्मा पराजुली, भगवती नेपाल र लक्ष्मी क्षेत्री रहेका छन् । चलचित्रमा राजेश हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् । विकास चौधरीको संगीत, रामजनकको द्धन्द्ध, लोकचन्द्र थापाको छायाँकन र निर्देशक बस्नेतकै नृत्यनिर्देशन रहेको चलचित्र 'हात लाग्यो शून्य' को छायाँकन काठमाण्डौ उपत्यका र बुटवलको आसपासका क्षेत्रमा गरिएको हो ।