चलचित्र बाटो मुनिको फूलका निर्माता राजेश घतानीलाई ज्यान मार्ने धम्की आएको छ । सामाजिक सञ्जाल फेसबुकमा १९ सय साथीहरु रहेको र आफुले नियमित रुपमा फेसबुक चलाउने गरेको बताउदै घतानीले बुधबार फेसबुककै प्रयोग गरेर एक ब्यक्तिले आफुलाई ज्यान मार्ने धम्की दिएको बताए ।
बुधबार दिउँसो फेसबुकमा च्याट गरिरहेका बेला मार्फ्युस पोखरेल नाम गरेको फेसबुक प्रयोग कर्ताले आफुलाई ज्यान मार्ने धम्की दिएको बताए । आफुलाई अपशब्द बोल्दै धम्की दिने उक्त फेसबुक प्रयोगकर्ताको बारेमा बुझ्दै जाँदा उनको बास्तबिक नाम पवन पोखरेल भएको र उनी झापा जिल्लाका भएको पत्ता लागेको घतानीले बताए । आफ्नो घर पनि झापा भएको बताउदै उनले घर नजीकैको ब्यक्तिले आफूलाई ज्यान मार्ने धम्की दिएको घतानीको भनाई छ । आफुसँग ब्यक्तिगत रिसिबि पनि नभएको भन्दै राजेशले धम्की दिने व्यक्तिले अहिले एसएलसी दिएको भर्खरको युवक रहेको बताए ।
च्याट गर्ने क्रममा ति व्यक्तिले आफू स्वयम्भूमा बस्ने गरेको बताएका थिए । यि व्यक्तिकै भाषामा आफ्नी दिदी रश्मी पोखरेललाई राजेशले बिल्ला गरेको भन्दै त्यसको रिसले ज्यान मार्ने धम्की दिएको च्याटमा देखिएको छ । उनले उक्त ब्यक्तिले फेसबुकमा राखेका तस्बिर सहित आफुलाई धम्की पूर्ण रुपमा लेखेका सबै कुराहरु प्रमाणको रुपमा प्रहरीलाई हिजो नै बुझाएकोले आज बेलुका सम्ममा उक्त व्यक्ति पक्राउ पर्ने विश्वास ब्यक्त गरेका छन् । उनले हिजो नै हनुमान ढोका प्रहरीमा उजुरी दर्ता गर्न गएको बताउदै बिधिध कारणले हिजो दर्ता गर्न नसकेको बताउदै आज घटनाको बिवरण सहित उजुरी दिने बताएका छन् । ज्यान मार्ने धम्की आए पछि निर्माता घतानीले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै निर्माता संघसँग समेत कुराकानी गरीसकेका छन् ।
यस बारेमा निर्माता संघका अध्यक्ष राजकुमार र्राईले फिल्मीखबरसँग कुराकानी गर्दै निर्मातालाई यसरी धम्की आउनु दुखद कुरा भएको भन्दै आपत्ति जनाएका छन् । उनले घटनाको सत्य तथ्य बुझेर निर्माता संघले कदम चाल्ने समेत बताए । साथै निर्माता संघ सधै निर्माताहरुकै पक्षमा रहेको भन्दै गल्ती नर्गन र यस्ता घटनाबाट बिचलित नहुन समेत आग्रह गरेका छन् । यता आफुलाई के कारणले धम्की आएको भन्ने मै अस्पष्ट घतानीले ति ब्यक्ति पक्राउ परे पछि मात्रै कुन उद्धेश्यले आफुलाई ज्यान मार्ने धम्की दिएको हो सो बारे रहस्य खुल्ने बताएका छन् । घतानी अहिले युएसए र युकेका साथीहरुसँग मिलेर चलचित्र 'बितेका पल' को निर्माणमा कार्यमा व्यस्त रहेका छन् ।