चलचित्र बाटो मुनिको फूलका निर्माता राजेश घतानीलाई सामाजिक संजाल फेसबुक मार्फत ज्यान मर्ने धम्कि दिएका पवन पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । सुरुंगा-२ झापा घर भएका पोखरेललाई आज दिउँसो करिब एक बजे तिर प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीसँगको बयानमा पोखरेलले निर्माता घतानीलाई धम्कि दिएको स्विकार गरेको सुरुंगा प्रहरी थाना इन्चार्ज बबिन्द्र नेम्वांगले जानकारी दिए ।
आफ्नो फेसबुक साथीहरु जम्मा पचपन्न जना मात्र रहेको र बुधबार दिउँसो एक बजे सुरुंगामै रहेको रिवाज साइबर क्याफेमा बसेर घतानीलाई ज्यान मर्ने धम्कि दिएको पोखरेलले प्रहरी समक्ष बताएका छन् । बयानको क्रममा उनले घतानी आफ्नै ठाउँको चिनेको दाई भएको नाताले कुराकानी गर्दा जिस्केको उनले बताए । आफुले जिस्कने क्रममा धम्कि दिएपनि अर्को दिन फेरी साइबर गएर राजेश घतानीसँग माफी माग्ने सोचमा समेत रहेको बयानकै क्रममा प्रहरीलाई उल्लेख गरेका छन् ।
आफ्नै दिदि रश्मी पोखरेललाई जिस्काएको आरोप लागेर ज्यान मार्ने धम्कि दिएका पोखरेलको रश्मी नाम गरेको समेत दिदि नरहेको प्रहरीको अनुसन्धान मार्फत खुल्न आएको छ । धम्कि आउने बितिकै हनुमानढोकामा उजुरी हालेका घतानीले पोखरेल माथि थप कारबाही गर्ने अथवा एकपटकको लागि माफ दिने बिषयमा सबैसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् । त्यो अवधिसम्म पोखरेललाई भने सुरुङ्गा प्रहरी थानामै राखिने थाना इन्चार्ज नेम्वांगले जानकारी दिए ।