मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेन्सर बोर्डलाई खग्रासको चुनौती

बिष्णु सुबेदी, काठमाण्डौ, 2011/07/01

चलचित्र खग्रासका निर्माता निलहरी काफ्लेले सेन्सर बोर्डले सेन्सर गरेका संवादहरू नहटाइकन चलचित्र प्रदर्शन गरेर सेन्सर बोर्डलाई खुल्ला रुपमा चुनौती दिएको छ । सेन्सर बोर्डले केही संवादहरूमा म्यूट गरेर चलचित्र सेन्सर पासको सर्टिफिकेट दिएको जनाएको छ । यद्यपी यसका निर्माता काफ्लेले भने सेन्सर बोर्डका पदाधिकारीहरुको दिमागी छनक भएको भन्दै सेन्सर बोर्डले काट्न भनेका कुनै पनि संवादहरु नकाटी चलचित्र प्रदर्शन गर्ने जनाएका छन् । उनले यसरी चलचित्र चलाउनु कानुन बिपरीत भएको स्वीकार गरे पनि सेन्सर बोर्डलाई सक्ने भए आफुलाई कारबाही गरेर देखाउन खुल्ला रुपमा चुनौती दिएका छन् । हेरौं चलचित्र खग्रासले सेन्सलाई लिएर मच्चाएका स्क्याण्डलहरु - 

स्क्याण्डल नं. १
जेष्ठ ४ गते बुधबार चलचित्र खग्रासको सेन्सर हुँदा चलचित्र सेन्सर बोर्डले चलचित्रका केही संवादहरुमा आपत्ती जनाउदै उक्त संवादहरुलाई म्यूट गरेर मात्र सेन्सर पास गर्ने जनाएको थियो । सेन्सर बोर्डका अध्यक्ष महेन्द्र गुरागाईंले जनाए अनुसार त्यसै दिन ति संवादहरु म्यूट गर्ने सर्तमा सेन्सर पासको सर्टिफिकेट लैजान बोर्डले भनेको भए पनि निर्माताले काफ्लेले सञ्चार माध्यमहरुमा आफ्नो चलचित्र सेन्सरले पास नगरेको प्रचार गरेका थिए । साथै उनले सेन्सर बोर्डको औचित्य माथि प्रश्न उठाउदै जेष्ठ ८ गते आइतबार सर्बोच्चमा मुद्धा हाल्ने बताएका थिए ।

स्क्याण्डल नं. २
आइतबार मुद्धा दर्ता गर्ने बताएका काफ्लेले आइतबार पछि भने मुद्धा दर्ताका लागी तयारी नपुगेको भन्दै १२ गते बिहीबारका लागी समय सारेको जनाएर आफ्नो बचाउ गर्दै जुन सुबै हालतमा सेन्सर बोर्ड खारेजीको मुद्धालाई सर्बोच्च पुर्‍याउने बताएका थिए । यता सेन्सर बोर्डले जनाए अनुसार ३-४ दिन सञ्चार माध्यमहरुमा सेन्सर बोर्डले आफ्नो चलचित्र पास नगरेको भन्दै हिडेका काफ्लेले यो बिचमा सेन्सर पासको सर्टिफिकेट लिएका थिए । तर सेन्सर पास नभएको भने भन्न छोडेका थिएनन् ।

स्क्याण्डल नं. ३
सरकारी स्वामित्वको टेलिभिजनले हजार पल्ट देखाएका दृष्य र पत्रपत्रिकाले लाखौ पल्ट लेखेका शब्दहरु चलचित्रमा काट्न भन्नु अभिब्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै सेन्सर बोर्ड नै खारेजी हुन पर्दछ भनेर सञ्चार माध्यममा खोक्दै हिडेका काफ्लेले १२ गते पनि मुद्धा दर्ता गर्न नसेको कारण बारे भने नेपालको राजनीतिक अवस्थालाई दोस दिएका थिए । उनले नेपालको राजनितिक अस्थिरताका कारण भै रहेको बन्दका कारण आफुले मुद्धा दर्ता गर्न नसकेको प्रतिक्रिया दिएका थिए । उनले यसो भनिरहदा उनले बन्द तथा हड्तालका बेला पनि सरकारी काम काज हुन्छ भन्ने कुरा सायद बिर्सेका थिए होला । त्यती बेला पनि उनले मुद्धा दर्ता गदैछु भन्न चाही छाडेका थिएनन् ।

स्क्याण्डल नं. ४
यसरी पटक पटक मुद्धा दर्ता गर्दछु भन्ने अनि दर्ता गर्न नसके पछि सायद उनलाई अलिकती लाज लागेछ क्यारे उनले १६ गते जुन सुकै हालतमा मुद्धा दर्ता गर्दछु भनेर हल्ला चलाए । उनले आइतबार त आफ्नो तर्फाबाट सेन्सर बोर्ड खारेजीको मुद्धा लड्ने वकिलहरुको नाम सकेत सार्वजनिक गरे । उनले सार्वजनिक गरेका वकिलहरुमा अधिबत्ता माधब बस्नेत र लिलामणी पौडेल रहेका थिए । उनले त्यस दिन मुद्धा दर्ताको अन्तीम तयारी भै सकेको भन्दै उक्त दिन दिउसो १२ बजे मुद्धा दर्ता गर्ने बताएका थिए ।

स्क्याण्डल नं. ५
त्यस दिन पनि मुद्धा दर्ता गर्न नसकेका उनलाई साँच्चिकै लाज लागेछ क्यारे उनले त्यसपछि यस बारेका कुनै हल्ला पिटेनन् । सेन्सर बोर्डले काट्न भनेका संवाद काट्ने र्सतमा काफ्ले चलचित्र सेन्सर पास भएको सर्टिफिकेट लिएर बसेका कारण त्यसपछि केही दिन गुम चुम भए ।

स्क्याण्डल नं. ६
चलचित्रमा सेन्सर बोर्डले काट्न भनेका संवादहरु काट्छु भने्र जाँच पासको सर्टिफिकेट लिएका काफ्लेले अन्तत: बोर्डले आफ्नो चलचित्रको सेन्सर नगरेको भन्दै असार ७ गते मंगलबार गुरुकुलमा शो गरे । त्यति मात्रै हैन उनले गुरुकुलमा नियमित रुपमा ४ दिन सम्म चलचित्रको प्रदर्शन गरे । सञ्चार माध्यमलाई समेत निमन्त्रणा गरी चलचित्र देखाएका उनले सेन्सर बोर्डले काट्न भनेका कुनै पनि संवाद नकाटी चलचित्र प्रदर्शन गरेर सेन्सर बोर्डलाइ खुला रुपमा चुनौती दिए । चलचित्र चलाए पछि उनले चलचित्र हेर्ने कसैले पनि चलचित्रका संवादमा आपत्ति नजनाएको भन्दै बोर्डले मात्रै आपत्ती जनाउनु बोर्डका सदस्यहरुको दिमागी छनक भएको प्रतिक्रिया दिए ।

स्क्याण्डल नं. ७
यसरी सेन्सर बोर्डले काट्न भनेका संवाद सहित चलचित्रको सार्वजनिक प्रदर्शन गरेका काफ्लेले अहिले यसरी चलचित्र चलाउनु कानुन बिपरीत भएको स्वीकार गर्दै सक्ने भए आफुलाइ कारबाही गरेर देखाउन सेन्सर बोर्डलाई चुनौती दिएका छन् । उनले गुरुकुलमा मात्रै हैन आफुले चलचित्र प्रदर्शन गर्दा कहिल्यै पनि चलचित्रमा सेन्सर नगर्ने बताएका छन् । उनले अहिले पनि सर्बोच्चमा मुद्धा हाल्न त सकेका छैनन् र पनि मुद्धा हाल्ने कुरा भने गर्न छाडेका छैनन् ।


यसरी खुल्ला रुपमा सेन्सर बोर्डलाई चुनौती दिदै सेन्सरले काट्ने भनेका संवादहरू नै नकाटी चलचित्रको सार्वजनिक प्रदर्शन हुनु कानुन बिपरीत भएकोमा सायद कसैको दुइमत नहोला । तर यसरी चलचित्र प्रदर्शन हुदा पनि सेन्सर बोर्ड भने मुख दर्शक भएर बसेको छ । यो घटना बारे सम्बन्धित निकाय यस्तो भन्छ ।


चलचित्र बिकाश बोर्डका अध्यक्ष गणेश भण्डारी

जेष्ठ १५ आइतबार खग्रासका निर्माताले १६ गते मुद्धा हाल्ने बताए पछि बिकाश बोर्डमा भर्खर नियुक्त भएका अध्यक्ष गणेश भण्डारीले कुनै पनि हालतमा सेन्सर बोर्ड खारेजी हुन नसक्ने बताउदै बरु केही प्राबधानमा संसोधन हुन सक्ने बताएका थिए । त्यस्तै चलचित्र खग्रासले सेन्सले सेन्सर गरेका संवादहरु नकाटीकन सार्वजनिक प्रदर्शन गर्दैछ रे भन्ने बारे बुझ्न खोज्दा सेन्सरले काटेका संवाद नकाटी चलचित्र प्रदर्शन गर्नु कानुन बिपरीत भएको भन्दै यदि त्यस्तो गरेको भए कारबाही हुने बताए । तर यस बारेमा निर्णय गर्ने सेन्सर बोर्ड भएको जानकारी दिदै कारबाही बारे बुझ्न बोर्डका अध्यक्ष महेन्द्र  गुरागाईंलाई सर्म्पर्क गर्न भन्दै उनि पन्छिए ।


सेन्सर बोर्डका अध्यक्ष महेन्द्र गुरागाईं
सेन्सर बोर्डका अध्यक्ष महेन्द्र गुरागाईंले सेन्सर लागेको संवाद नकाटी देखाएमा कारवाही गर्ने गर्ने बताए पनि के कारवाहि हुन्छ भन्ने बारे केहि बोलेनन् । उनले भने, 'कानुनमा जे लेखेको छ त्यहि हुन्छ ।' कानुनमा के लेखेको छ त ? अध्यक्ष गुरागाईं भन्छन्, 'नियम कानुन आँफै पढ्नुस् ।' खग्रासले सेन्सर लागेका संवादहरू नकाटि देखाएको कुरा सत्य भएपनि सेन्सर बोर्डले केहि गर्न नसक्ने भन्दै अफिसियल रूपमा रिपोर्ट गरेमा जिल्ला प्रशासन कार्यालयमा कारवाहिको लागी बोर्डले खबरदारी गर्ने अध्यक्ष गुरागाईंले बताए ।

 

अब कुरा आउँछ सेन्सर बोर्डको । यदि सेन्सर बोर्डले चलचित्र सेन्सर गर्ने तर सेन्सर गरेका संवादहरू नकाटि देखाउँदा पनि कारवाहि हुँदैन भने चलचित्र सेन्सर गर्नुको अर्थ के ? के सेन्सर बोर्ड यस्तो बेला मुख दर्शक भएर बस्ने हो ? सेन्सर बोर्ड मुख दर्शक भएर बस्ने हो भने कारवाही गर्ने कस्ले त ? यहि सेन्सर लागेको संवाद तथा दृश्यहरू नकाटि देखाउँदा कारवाहि हुँदैन भने सेन्सर लगाउनुको अर्थ के ?