पछिलो समय नेपाली चलचित्रको नामको सवाल लाई लिएर बिभिन्न चर्चा हुने गरेको छ । अंग्रेजी अथवा हिन्दि शब्दबाट प्रभावित भएर चलचित्रको नाम राख्ने प्रचलन यतिबेला बढिरहेको छ । बर्षेनी धेरै चलचित्रहरु बनिरहेको र नामको खडेरी लागेको हुनाले यो अवस्था आएको धेरै चलचित्रकर्मीको भनाइ छ ।
यस्तै अंग्रेजी शब्दबाट नाम राखिएको एक चलचित्र अब प्रदर्शनमा आउने भएको छ । साउनको दोस्रो साताबाट देशव्यापी रूपमा प्रदर्शन हुन लागेको चलचित्रको नाम 'द मोस्ट वान्टेड' रहेको हो । उत्तरगया फिल्म्सको ब्यानरमा रामभक्त श्रेष्ठले निर्माण गरेको चलचित्रलाई दिनेश पौडेलले निर्देशन गरेका हुन् । काठमाडौँ उपत्यका भित्र प्रदर्शनको पालो कुरेर बसेको सो चलचित्रले निर्माण भएको झन्डै तिन वर्ष पछि मात्र पालो पाएको हो । अब यो चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
एक्सनप्रधान चलचित्रमा निखिल उप्रेती, राजेश ढुंगाना, रेजिना उप्रेती, रमित ढुंगाना, तेजुला खतिवड़ा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा हरि लम्सालको संगीत रहेको छ भने कृष्ण श्रेष्ठको छायाँकन, कुमार श्रेष्ठको द्वन्द तथा कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ । एक इमान्दार पुलिस अफिसरले आफ्नो कर्तब्य निभाउने क्रममा उसले भोग्नु पर्ने बिभिन्न समस्या, चुनौती चलचित्रको मुख्य कथावस्तु रहेको जानकारी निर्माता श्रेष्ठले गराए ।