चलचित्र अन्दाजको टिम जोमसोम जानबाट बञ्चित भएको छ । चलचित्रको बाँकी छायाँकन जोमसोममा गर्ने भन्दै युनिटले जोमसोम जान निकै लामो प्रयास गर्दा पनि उक्त प्रयास असफल भएको हो ।
रेखा थापा प्रमुख भुमिकामा देखिएको यस चलचित्रमा उनि जोमसोमको एक होटल साहुनी भएर देखिनु पर्ने भएकाले पनि युनिट जोमसोम जार्नै पर्ने बाध्यतामा थियो । तर निरन्तर मौसममा खराबी आएका कारण सुटिङ युनिट जोमसोम जान असक्षम भएको हो । काठमाण्डौमा नै केही दिन रोकीएको युनिट जसो तसो पोखरा त पुग्यो तर पोखराबाट जोमसोम जान भने सकेन । सोमबार जोमसोमका लागी हिडेको युनिट पोखरा पुगेर रोकीयो । पोखराबाट मंगलबार जोमसोम उड्ने गरी टिकट काटेको युनिट मंगलबार, बुधबार र बिहिबार सम्म पनि कुनै पनि एयर लाइन्सले जोमसोमका लागी उडान भर्न नसकेपछि बिहीबार साँझ काठमाण्डौ फर्किएको छ ।
सडक प्रयोग गरेर जाउ भने बाटोमा पहिरो, उडेर जाँउ भने कुनै पनि उडान हुदैन । धर्म संकटमा परेको यो युनिटले मंगलबार त पोखरालाइ नै जोमसोम बनायो । अर्थात पोखरामा नै एउटा गितको केही दृष्यहरु खिचिए । निर्देशक उज्वल घिमिरेले दिएको जानकारी अनुसार पोखरामा रोकिनु परेको समयलाई सदुपयोग गर्न ८ सिन खिचिएको हो । तर उक्त गीतको बाँकी छायाँकन भने जोमसोममा नै हुनेछ ।
चलचित्रको ९५ प्रतिशत छाँयाकन सकिएको र बाँकी ५ प्रतिशत छायाँकनका लागी जुन सुकै हालतमा युनिट जोमसोम पुर्याउने बताउदै निर्माता छबि ओझाले अब साउनको पहिलो साता युनिट जोमसोम जाने बताएका छन् । पोखराबाट अग्नी र यति एयर लाइन्सबाट जोमसोम जानका लागी टिकट काटेको युनिटले सुटिङको लागी आवश्यक बन्दोबस्तीका सामानहरु प्लेनबाटनै जोमसोम पुर्याउने बताएको थियो । तर जोमसोम जान नसकेपछि अहिले जोमसोमका लागी काटीएको २७ जनाको प्लेन टिकट क्यान्सील गर्न लागीएको निर्माता छबि ओझाले जानकारी दिए ।
दशैमा चलचित्र प्रदर्शनको मिती तय गरेर छायाँकन थालेको चलचित्रको छाँयाकन बिचैमा रोकीएको छ । छाँयाकन बिचैमा रोकीए पनि चलचित्रलाई जुनसुकै हालमा दशैमा नै चलाउने निर्माता ओझाको भनाइ छ । छाँयाकन सकिएको ९५ प्रतिशत बाँकी प्राबिधिक काम भै रहेको बताउदै उनले बाँकी ५ प्रतिशतको छाँयाकन सक्दा साथ प्राबिधिक काम थालिने हुदा चलचित्र तोकीएको समयमानै चलाउने जनाएका छन् ।