इन्डियन आइडल प्रशान्त तामाङ अभिनित चलचित्र 'अंगालो यो मायाको' बिहिबारबाट धरानको गणेश टाकिजमा प्रदर्शनमा आएको छ । देशका बिभिन्न स्थानमा असार १० गते रिलिज भएको चलचित्रले धरानमा प्रदर्शनकोको लागि बल्ल पालो पाएको हो ।
चलचित्रको प्रोमोसनको लागि चलचित्रका निर्माता किशोर दुङमाली राई र यसै चलचित्रबाट डेब्यू गरेकी नायिका हर्षिका श्रेष्ठ धरान आएका थिए । पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्माता राईले आफ्नो चलचित्रले धराने दर्शकको मन जित्नेमा बिश्वास व्यक्त गरे । दार्जिलिङ र सिक्किममा चलचित्रले उत्साह जनक व्यापार गरेको बताउदै झरीको यो मौसम र प्रशान्तको चलचित्र जुध्दा पनि दर्शकले आफ्नो चलचित्रलाई रूचाएको निर्माता राईको दाबी थियो ।
विभिन्न संचारमाध्यममा चलचित्रले क्रिस्टियन धर्मको प्रचार गरेको समाचार आएपनि चलचित्रमा त्यस कथालाई खासै महत्व नदिएको युनिटको भनाई छ । मुलधारका नेपाली फिल्म हिन्दु धर्मका यावत कथाबस्तुमा केन्द्रित भईरहेको बेला आफुले त्यो भन्दा फरक रही क्रिस्टियन धर्मको सकारत्मक कुरा मात्र देखाउन खोजेको निर्माता राईले बताए । उता चलचित्रकी नायिका श्रेष्ठ चलचित्र र आफ्नो अभिनयलाई दर्शकले रुचाएकोमा मक्ख देखिन्थिन्।
त्यस्तै चलचित्रको टिमले शुक्रबार धरानमा दर्शकसंग चलचित्र हेरेको थियो । चलचित्र हेरिसकेपछि हलमा भेला भएका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माता र नायिका दुवै खुसि थिए। धराने दर्शकको सदभावबाट हौसिएका निर्माता राईले चाडै नै अर्को फिल्म बनाउने जानकारी पत्रकार माझ गराए।