प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'के यो माया हो' को युनिटले आगामी शुक्रबार एक समारोहको आयोजना गर्दैछ । प्रचारप्रसारलाई अगाडी बढाउँदै सो समारोहमा चलचित्रको अडियो लञ्च, वेभसाईट लञ्च, पोस्टर सार्वजनिक तथा चलचित्रका गीत प्रोमो देखाईने कार्यक्रम रहेको निर्देशक सुदर्शन थापाले फिल्मीखबरलाई जानकारी गराए ।
श्रावण २० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको सो चलचित्र पछिल्लो समयको निकै आश लाग्दो चलचित्रको रूपमा हेरिएको छ । चलचित्र 'मेरो एउटा साथी छ' बाट राम्रो चर्चा पाएका निर्देशक थापाद्वारा निर्देशित चलचित्र 'के यो माया हो' लाई उक्त चलचित्र भन्दा राम्रो बन्न सक्ने आंकलन गरिएको छ । त्यसैमाथी 'मेरो एउटा साथी छ' बाट नै चर्चित बनेका नायक आर्यन सिक्देलको अभिनय रहनुले पनि यो चलचित्र राम्रो बनेको र सफल हुनेमा चलचित्रकर्मीको बिश्वास छ । यसैगरी चलचित्रको कथाबस्तु पनि भिन्न रहनुले दर्शकलाई यो चलचित्र नयाँ स्वादको हुनसक्ने दाबी निर्देशक थापाको छ ।
बिशेष गरी काठमाण्डौ उपत्यका बढ्दै गईरहेको लिभिङ्ग टुगेदरको कथालाई यस चलचित्रले उठान गरेको छ । यसका साथमा चलचित्रले शहर पसेका बिद्यार्थीहरुले डेरा खोज्दा ब्यहोर्नुपर्ने समस्यालाई समेत उठाएको छ । विवाह अघि केटा र केटी सँगै बस्दा के-कस्ता समस्याहरु आउन सक्छन् त ति समस्यासँग उनीहरू कसरी लड्छन् भन्ने कुरालाई प्रस्ट्याउने खोजिएको सो चलचित्रमा आर्यन सिक्देलको साथमा शुष्मा कार्की, अरूणिमा लम्साल, सौगात मल्ल लगायतको अभिनय रहेको छ ।
पोखरेली निर्मातात्रय सुरेश पहारी, शंकर गुरूङ र गौरभ हिराचनले निर्माण गरेको चलचित्र 'के यो माया हो' मा सुगम पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, भारतीय लेखक निरज विक्रमको पटकथा र संवाद, अनुप कोईरालाको नृत्य र राजेश श्रेष्ठको छायांकन रहेको छ । पोखरा र जोमसोममा छायाँकन गरिएको सो चलचित्रको लगानी करिब एक करोड रहेको बताईएको छ ।