आज भन्दा ठिक एक बर्ष अघि छायाँकन गरिएको चलचित्र 'मनले मनलाई छुन्छ' को मिक्सिङ साउनको पहिलो साता सुरु गरिने भएको छ । नेपाली चलचित्रको प्रदर्शन प्रणालीबाट दिक्क मानेका चलचित्रका निर्माता तथा नायक बिरेन श्रेष्ठले बिस्तारै काम गरेर दर्शकलाई राम्रो चलचित्र दिन लागेकोले प्राबिधिक कार्य ढिला भएको जानकारी दिए ।
आफ्नो चलचित्रलाई पारिवारिक प्रेमकथा भन्न रुचाउने निर्माता तथा नायक श्रेष्ठले चलचित्रको नामले जस्तै दर्शकको मनलाई चलचित्रको मनले छुने आशा ब्यक्त गरेका छन् । यस अघि पनि पारिवारिक प्रेमकथामा चलचित्र 'मिस्टर मंगले' बनाएका बिरेनले त्यो चलचित्र कमेडी बेसमा लभ स्टोरी भए पनि यो चलचित्र भने शिव रेग्मी शैलीको भएको बताएका छन् । उक्त चलचित्रलाई राम्रो छबि बनाएका निर्देशक शिब रेग्मीले निर्देशन गरेको हुनाले पनि उनले चलचित्र राम्रो बनेको दाबी गरेका हुन् ।
काठमाडौ, चितवन र धुलिखेलमा छायाँकन गरिएको चलचित्र 'मनले मनलाई छुन्छ' को कथा निर्देशक शिब रेग्मी आफैले लेखेका हुन् । बिरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, केशब भट्टराई, मिथिला शर्मा, सिर्जना बस्नेत लगायतले अभिनय गरेका छन् । चलचित्र रिलिज हुने टुंगो कहिले लाग्छ भन्ने कुरामा निर्माता श्रेष्ठ अनभिज्ञ छन् ।