कमेडी चलचित्र 'ब्रेक फेल' लाई भाद्र १६ गते सार्वजनिक प्रदर्शन गर्ने तयारीमा रहेका घिमिरे दम्पत्ति निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरेको व्यस्तता दिनप्रति दिन बढ्दो रहेको छ । चलचित्रको प्रदर्शन मिती जति नजिकिंदै छ उनीहरूको व्यस्तता पनि त्यति नै मात्रामा बढ्दै छ ।
चलचित्रको पोस्टर डिजाइन गर्नु, प्रोमो बनाउनु, सञ्चारमाध्यममा अर्न्तवार्ता दिनु लगायतका कामले गर्दा उनीहरूको दिनचर्या व्यस्ततामा नै गुज्रिएको छ । यसरी व्यस्त बनेका घिमिरे दम्पतीले चलचित्रको प्रचारलाई तिब्र पार्दै पोस्टर पनि सार्वजनिक गरेका छन् भने १५ सेकेन्डको प्रोमो पनि १/२ दिनमा नै सार्वजनिक गर्ने तयारीमा छन् । नायिका ऋचा र निर्देशक शंकरले फेसबुकको साहारा लिएर सार्वजनिक गरेको पोस्टरलाई धेरैले मन पनि पराएका छन् ।
यसरी दर्शकको राम्रो प्रतिक्रिया पाएर हौसिएका घिमिरे दम्पती चलचित्रको प्रचार प्रसार नयाँ ढंगले गर्ने योजनामा पनि छन् । आफूले निर्माण गरेको चलचित्र पृथक रहेकाले उनीहरू प्रचार प्रसार पनि पृथक तरिकाले गर्ने योजनामा रहेको बुझिएको छ । के छ त उनीहरूको मास्टर प्लान ? निर्देशक घिमिरे भन्छन्, 'शुक्रबारबाट हाम्रो मास्टर प्लान देखिनेछ । हामी अहिले त्यसैको तयारीमा व्यस्त छौं ।'
वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' पूर्ण रूपमा कमेडी चलचित्र रहेको बताईएको छ । राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, सुवास थापा, ममता प्रधान, पुष्कर भट्ट, चिरन, मदन महत, शिबहरी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको सो चलचित्रलाई मनोज कुमार घिमिरे, शिबहरी कार्की र प्रदिप सिंहले निर्माण गरेका हुन् । चलचित्रमा सत्यस्वरूप र द युनिटी व्यान्डको संगीत रहेको छ ।