पहिलो चलचित्रबाट नै चर्चा आएमा आएका निर्देशक प्रशन्न पौडेलले अब चलचित्र निर्देशनबाट सन्यास लिने बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै उनले आफुले अग्रिमेन्ट गरेका दुई चलचित्रको काम सकाए पछि औपचारीक रुपमा नै चलचित्र क्षेत्रबाट सन्यास लिने बताएका हुन् ।
चलचित्र क्षेत्रका ब्यक्तिहरुको प्रवृतिबाट वाक्क लागेको बताउदै उनले चलचित्र क्षेत्रमा सहयोगी भावनाका मान्छेहरु कम भएको बताएका छन् । चलचित्र बनाएर प्रदर्शन गर्न नसक्ने यहाँको सिस्टम, चलचित्र भित्र राजनिती गर्ने व्यक्तिहरू तथा खुट्टा तान्ने प्रवृत्ति भएका व्यक्तिहरूको जमात रहेकाले आफुले यस क्षेत्रमा काम गर्न नसक्ने प्रशन्नको गुनासो थियो । उनले आफु चलचित्र क्षेत्रमा भएका समस्यासंग डराएर भाग्न लागेको नभई काम गर्ने बतावरण नभएका कारण चलचित्र क्षेत्रबाट सन्यास लिन लागेको बताए ।
थुप्रै सफल म्यूजिक भिडियो निर्देशन गरेर चलचित्र निर्देशनमा प्रबेश गरेका निर्देशक पौडेलले चलचित्र स्वरबाट खासै राम्रो जस पाएनन् । उनको प्रसंसा गर्ने भन्दा आलोचना गर्ने बढि देखिए । सायद यहि भएर पनि हुनसक्छ उनी अहिले यो क्षेत्रबाट निकै फ्रस्टेड भएको । मानसिक रूपमा चलचित्र क्षेत्रबाट टाढा हुने खोजेको भएपनि उनले दुई चलचित्र भने निर्देशन गर्नेछन् । निर्मातालाई बचन दिईसकेकोले सो बचन तोड्न नसक्ने भन्दै ति दुई चलचित्र निर्माण गरे लगत्तै आफू यस क्षेत्रबाट बिदा हुने प्रशन्नको भनाई छ ।
बिकज आई लभ यू निर्देशन गर्ने घोषणा गरेका प्रशन्नले कलाकार समेत फाइनल गरेको चलचित्रलाई थाति राख्दै केही दिन अघि मात्र उनले मेरो बेष्ट फ्रेन्ड नामको चलचित्रको निर्देशन गर्ने घोषणा गर्दै चलचित्रको प्रोमो र पोष्टर समेत तयार गरि सकेका छन् । यसैले दुई चलचित्रको काम बिचैमा छोड्दा निर्मातालाई धोका हुने भन्दै यि चलचित्रको काम सकेर चलचित्र क्षेत्रबाट सन्यास लिने बताएका हुन् । चलचित्र क्षेत्रबाट सन्यास लिने बताएका यि निर्देशकले म्यूजिक भिडियोको कामलाई भने निरन्तरता दिने जनाएका छन् ।
चलचित्र क्षेत्रमा नयाँ सम्भावना बोकेका निर्देशकहरुमा प्रशन्नको नाम पनि अगाडी नै आउने गर्दछ । चलचित्र क्षेत्रको मुहार फेर्ने जिम्मेवारी बहन गर्नु पर्ने यि नयाँ पुस्ताका निर्देशक प्रशन्न जसले आफैले नेतृत्व लिएर चलचित्र क्षेत्रको सुधारका लागी पहल गर्न सक्थे तर यि निर्देशक आफै चुनौतिका पहाडसंग नजुधिकन यसरी भाग्नु पक्कै राम्रो हैन । आशा गरौं कि प्रशन्नले आफ्नो यो बोली छिट्टै नै फिर्ता लिनेछन् र नेपाली चलचित्रको मुहार फेर्न सहयोग पुर्याउने छन् ।