म सधैं बिहान ६ बजे उठिसक्छु । उठेर हातमुख धुन्छु अनि फ्रेस हुन्छु । फ्रेस भइसकेपछि एक लिटर पानी पिउँछु । म पानी पिउन कहिल्यै छुटाउँदिन । यो मेरो नियमित दैनिकी हो । त्यसपछि म डान्स क्लास तिर लाग्छु । मेरो बिहानै ब्रेकफास्ट लिने बानी छैन त्यसैले म व्रेकफस्ट नलिइकनै डान्स क्लास जान्छु । म बिहानमा मर्निङ वाक र योगा केही पनि गर्दिन ।
घर बसुन्धारा देखि त्रिपुरेश्वर डान्स क्लव करिव १०/१५ मिनेटमा पुग्छु । त्यहाँ मैले करिब दुई घन्टा बिताउँछु र एघार बजेको समयमा म घर फर्किन्छु र त्यसपछि वल्ल व्रेकफास्ट लिन्छु किनकी मेरो व्रकेफास्ट लिने बानी अलि ढिलो छ । म लन्च पनि ढिलो नै लिन्छु । व्रेकफास्टमा म साधारण खानेकुरा नै मन पराउँछु । व्रेकफास्ट लिएपछि एकैछिन रेस्ट गर्छु र अभिनय क्लास तिर लाग्छु ।
अहिले मैले कलाकार बिरेन्द्र हमाल सरसँग पुरानो बानेश्वरमा अभिनय सिकिरहेकी छु । करिब तीन घण्टाको अभिनय क्लास पछि म ३ बजे तिर घर फर्कन्छु र लञ्च लिन्छु । म काठमाडौंमा अंकलको घरमा वसिरहेको छु । घरमा अंकल, फुपु, दिज्यू र मेरो भाई छन् । घरमा प्राय दिज्यूले नै खाना बनाउनुहुन्छ । कहिले काहिं उहाँले मलाई खाना कुरेर बस्नुभएको हुन्छ । कहिले खाएर मलाई राखिदिनुभएको हुन्छ । प्राय म एक्लै खाना खानु पर्ने हुन्छ तर परिवारसँग बसेर खाना खान रूचाउँछु । लन्चमा साधारण खाना दालभात तरकारी नै मन पराउँछु । म खानामा त्यस्तो चुजी छैन ।
खाना खाइसकेपछि एकैछिन रेस्ट गर्छु अनि टिभी हेर्छु । टिभीमा म प्राय इङग्लिस मुभीहरू बढि हेर्छु । नेपाली मुभीहरू त म हलमा गएर नै हेर्छु । साँझ टिभी फिल्मीमा दिने सात बजेको मुभी राम्रो छ भने हेर्छु नत्र हेर्दिन । त्यसमा पनि म प्राय नेपाली मुभीहरु नै हेर्छु । घरमा त मसँग एउटा मात्रै नेपाली मुभी कसुमे रूमाल छ । त्यो धेरै पटक हेरिसके । त्यस्तै साँझपख म पुस्तकहरू पनि पढ्छु । अहिले 'फेयर वेल टु आम्स' भन्ने पुस्तक पढिरहेको छु । अझै सिध्याएको छैन निकै राम्रो छ यो पुस्तक ।
साँझ ५/६ बजेको समयतिर खाजाको रूपमा म सलादहरू खान्छु । त्यसपछि एकैछिन कम्प्युटर तिर भुल्छु । कम्प्यूटरमा म न्यूजहरू हेर्छु र फेसबुक पनि चलाउँछु । फेसबुकमा अन्य साथीहरूलाई निकै समस्या भएको खबर भएको सुनेको छु तर मैले अझैसम्म त्यस्तो भोगेको छैन । किनकी मैले जो पायो त्यसलाई एड गर्दिन । साँझ अनलाईनमा बस्दा साथीहरूसंग पनि च्याट गर्छु । च्याट गर्दागर्दै समय बितेको पत्तै हुन्न । फेसबुक चलाएपछि म एक छिन टिभी हेर्छु । राती नौ बजेतिर मात्र म डिनर लिन्छु । त्यसपछि स्पेसल नयाँ मुभीहरू हेर्छु । मुभि हेरिसके पछि एक छिन् पुस्तक पढ्छु र १२ बजेको समय तिर सुत्छु ।
आजभोली कुनै पनि मुभिको सुटिङ छैन त्यसैले एकटिङ्ग क्लास, डान्स क्लास, मुभी हेर्ने र पुस्तक पढ्ने त मेरो दैनिक कार्य जस्तै भएको छ । मैले बढि समय मुभि हेर्न र पुस्तक पढ्नमा बिताउँछु । भर्खरै मात्र अर्जुन अधिकारी दाईसंग एउटा म्यूजिक भिडियोमा काम गरें । त्यस्तै एउटा बिज्ञापनमा पनि काम गरें । तर अहिले कुनै काम छैन त्यसैले अलि फुर्सदमा छु । सुटिङका बेला भने मेरो दैनिकी एकदमै फरक हुन्छ । सुटिङमा अन्य काम गर्न त्यति फुर्सद पनि हुन्न ।