हामीले सुन्दै आएका छौ केही निर्माता निर्देशकहरु आफ्नो चलचित्रमा नयाँ नयाँ नायिकाको खोजी गरिरहेका छन् । यदि तपाई पनि नयाँ नायिकाकै खोजीमा हुनुहुन्छ भने अब त्यो खोजी अभियान बन्द गरिदिनुहोस् । किनकी नेपाली चलचित्रमा सम्भावना बोकेका दुई नायिकाको आगमन भैसकेको छ ।
निरू र बिमला नाम गरेका दुई नायिकाहरूलाई सुटुक्क पर्दामा ल्याउने काम गरेका छन् घिमिरे दम्पति नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले । शंकर घिमिरेको निर्देशनमा तयार भएको चलचित्र 'ब्रेक फेल' बाट यि नायिकाहरुले डेब्यु गरेका हुन् । यि दुबैको अभिनय कस्तो छ त्यो त चलचित्र हेरेपछि मात्र थाहा होला तर अहिले नै यिनिहरुले चर्चा पाउन थालिसकेका छन् । त्यसैले नेपाली चलचित्रका लागी सम्भावना बोकेका यि नायिकाहरु प्रति तपाई पनि एक पटक आँखा लगाउनुहोस् । कतै तपाईंले खोजेको नायिका यस्तै पो हुन् कि ।
नायिकाद्वय निरू र बिमलाको अभिनयको तारिफ गरेर निर्देशक घिमिरे थाक्दैनन् । उनी भन्छन्, 'उनीहरूको अभिनयलाई मन नपराउने कोही हुँदैन होला ।' निरू र बिमला चलचित्रमा अभिनय गर्न पाए जस्तो पनि काम गर्न तयार छन् । अंग प्रदर्शन होस् या किस सिन या बेड सिन जे गर्न पनि तयार छन् यि नायिका । मात्र यि नायिकाहरू स्थापित हुन चाहन्छन् । उनीहरू भन्छन्, 'हामी समझदारीमा काम गर्न तयार छौं ।'
कमेडी धारमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' भाद्र १६ गते बाट रिलिज हुदैछ । चलचित्र 'ब्रेक फेल' ले हसाउँला नहसाउँला त्यो त रिलिज भएपछि नै थाहा हुनेछ तर अहिले यो समाचार पढेर भने पाठकहरू पक्कै हाँस्नु हुनेछ । प्रस्तुत तस्विर हेरेर सायद धेरैले चिन्नु भएन होला यि कलाकार को हुन् भनेर । यि कलाकारद्वय अरू कोही नभएर चलचित्र 'ब्रेक फेल' का मुख्य नायक निरज बराल, बिमलेश अधिकारी हुन् । चलचित्रमा निरज र बिमलेश केहि दृश्यमा केटी बनेर ठगको भुमिका निर्वाह गरेका छन् । चलचित्रमा यि नायकलाई केटीको गेटअपमा मात्र नभएर थुप्रै अनौठा गेटअपमा प्रस्तुत गरिएको निर्देशक घिमिरे बताउँछन् ।