नेपाल टेलिभिजनमा तितो सत्य कार्यक्रम हेरेर हाँस्ने दर्शकका लागि गैंडा कुनै नयाँ नाम हैन । हो यिनै गैंडा अर्थात् निर्मल शर्मा जसको परिचय मात्र कलाकारमा सिमित छैन । उनि त नेपाली चलचित्रका कलाकार, निर्माता तथा म्युजिक भिडियोका निर्देशक पनि हुन । त्यसो त उनले टेलिभिजनका लागि बिज्ञापन पनि निर्देशन गर्ने गर्दछन् ।
६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका यि कलाकारले अभिनयसंगै ६ वटा चलचित्रको निर्माण पनि गरिसकेका छन् । कुनै पनि चलचित्रले राम्रो ब्यापार गर्न नसकेका कारण उनि आफुले चलचित्र निर्माण गरेको भन्ने कुरा नै बिर्सन चाहेको चाहन्छन् । चलचित्र निर्माण भन्दा पनि अभिनय र म्युजिक भिडियो निर्देशनका साथै टेलिभिजन बिज्ञापनको निर्देशन नै आफ्नो प्रहिलो प्राथमिकता भएको निर्मल बताउँछन् । उनका अनुसार कुनै पनि इतिहास रच्ने नभएर गीत संगीतको मर्मलाई नमार्ने गरी म्युजिक भिडीयो निर्देशन गर्ने गर्दछन् । कलाकारको बजेटकै आधारमा म्युजिक भिडियो निर्देशन गर्ने शर्माले म्युजिक भिडियोमा आफ्नो कुनै रेट नभएको बताए ।
कोरियन र स्पेनी गीतको म्युजिक भिडियो बढी हेर्ने गरेको भन्दै शर्माले आफु तिनै म्युजिक भिडियोबाट प्रभावित भएको बताएका छन् । उनका अनुसार अहिले सम्म उनले निर्देशन गरेका धेरै म्युजिक भिडियो कोरियन र स्पेनी म्युजिक भिडियोबाट कपी गरिएका छन् । नेपालमा कोरियन र स्पेनी चलचित्रको प्रभाव दिनानुदिन बढीरहेका बेला उतैबाट प्रभावित यि म्युजिक भिडियोले पनि सञ्चार माध्यममा राम्रै स्थान पाएका छन् । पछिल्लो समय शर्माको निर्देशनमा बनेको 'तिमी करोडमा मत रोडमा...' गीतको भिडियो र 'उडूँउडूँ लग्यो मलाई...' गीतको भिडियो चर्चामा छन् ।
त्यसो त स्वर्गीय कुमार कान्छाले गाएको अन्तिम गीत 'हाँस्नु पनि जीन्दगी रुनु पनि जीन्दगी..' को म्युजिक भिडियो पनि उनैले निर्देशन गरेका छन् । गुञ्जन स्टुडियोको प्रस्तुति रहेको 'साइनो' एल्बमका लागी आलोक श्रीको शब्द संगीत रहेको यो गीतको भिडियो शुक्रबारबाट सार्वजनिक गरिने समेत शर्माले जनाएका छन् । यता अहिले सम्म ३५ भन्दा बढी बिज्ञापनको निर्देशन गरिरहेका शर्माले बिज्ञापन निर्देशनको कामलाई अर्को महत्वपूर्ण काम सम्झेका छन् । पछिल्लो समय तितो सत्यका घाटु र दिपाश्रीका साथै आफ्नै छोरालाई अभिनय गराएको सर्फको बिज्ञापन अहिले चर्चामा रहेको छ ।
आफुलाई निर्माता भन्न नरुचाउँदा नरुचाउँदै पनि फेरी उनले अर्को चलचित्र बनाउँदै छन् । तितो सत्यका निर्देशक दिपकराज गिरीसँग मिलेर बनाउन लागेको चलचित्रको नाम फाइनल नभए पनि कथा भने फाइनल भैसकेको छ । दिपकको निर्देशनमा बन्ने चलचित्रको कथा पूर्णतया कमेडी हुने शर्माले जानकारी दिए । उनका अनुसार चलचित्र जती सक्यो कम बजेटमा बनाइने छ । चलचित्रमा तितो सत्यका केही कलाकारहरुका साथ अहिले काम नभएर फुर्सदमा बसेका कलाकारहरुले अभिनय गर्नेछन् । केही समयमा नै छायाँकन थालिने जनाइएको यस चलचित्र 'तितो सत्य' स्टाइलको हुने समेत उनले जानकारी दिए ।