धेरै कलाकारहरु पाए सम्म अरुका चलचित्र खेल्ने अनि अरुको चलचित्रमा काम नपाए आफैले चलचित्र निर्माण गर्ने गर्दछन् । आज भन्दा करिब ४ वर्ष अघि महानायक राजेश हमालले चलचित्र निर्देशन गर्छु भने। तर अहिले सम्म निर्देशन गर्न सकेका छैनन् । उनले जहिले पनि अरुका चलचित्रमा ब्यस्त भएका कारण आफुले निर्देशन गर्ने भनेको चलचित्रको काम अगाडी बढाउन नसकेको बताउँदै आएका छन् ।
यता नायिका झरना थापाले पनि आफु अरुका चलचित्रमा ब्यस्त भएका कारण आफ्नो चलचित्र 'केटी हराएको सुचना' निर्माण हुन नसकेको बताएकी छन् । यस अघि पनि केही चलचित्र निर्माण गरिसकेकी झरनाले एक बर्ष अघि सो नामको चलचित्र निर्माण गर्ने घोषणा मात्र हैन गीत पनि तयार पारिसकेकी थिईन् । तर अहिले सो नामको चलचित्र बन्ने कुनै टुंगो छैन । दयाराम दहालको निर्देशनमा बन्ने भनिएको सो चलचित्रको कथा ब्रजेश खनालले लेखेका थिए ।
अब त अति भो नायिका झरनाको चलचित्र बनाउने कुरा पनि । केही समय अघिमात्र उनले अर्को चलचित्र 'बिर अमरसिंह थापा' बनाउने बताएकी थिईन् । त्यो चलचित्र पनि निर्माण हुन सकेन । उनले त्यो चलचित्रका लागी रिर्सच गर्नु पर्ने भएको भन्दै चलचित्र बन्न अझै २ वर्ष जती लाग्ने बताइन् । चलचित्र बनाउछु भनेर घोषणा गर्ने अनि आफु अरुका चलचित्रमा ब्यस्त भएका कारण बनाउन नसकेको बताउने यि नायिकाले अहिले आएर फेरी अर्को चलचित्र बनाउने जनाएकी छन् ।
उनले साथीहरूको बिषयमा आधारित चलचित्र बनाउन लागेकी छन् । चलचित्रको नाम तय भैनसके पनि निर्देशक सुरज सुब्बा भने तय भैसकेका छन् । भदौको तेस्रो हप्ताबाट छायाँकनमा जाने बताउदै झरनाले यो चलचित्र भने पक्का बनाउने बताएकी छन् । यो बिचमा अन्य कलाकार र प्राबिधिकहरुको टुङ्गो लाग्ने बताउदै उनले अहिले युवायुवतीमा साथीहरु बिच जस्तो क्रियाकलाप हुन्छ त्यस्तै चलचित्र बन्ने बताएकी छन् ।
चलचित्र क्षेत्रमा यस्ता थुप्रै व्यक्तिहरू छन् जो गर्छु भनेको काम समयमा गरेर देखाउँदैनन् र दोष दिन्छन् समयलाई । झरना ज्यू याद गर्नुहोस् तपाईले चलचित्र बनाउछु भनेको धेरै नै भइसक्यो । फेरी तपाई पनि गफै मात्र गर्ने नायिकाको रुपमा चिनिनु होला नि ! यस्तै गफ गर्दै जाने हो र काम नगर्ने हो भने तपाईंलाई सबैले गफाडी नायिकाको ट्याग भिराईदेलान् है ।