केपी फिल्म्सको व्यानरमा कृषा चौलागाईंले निर्माण गरेको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को छायाँकन कार्य समाप्त भएको छ । जेष्ठ २४ गते मंगलबारका दिन सिन्धुपाल्चोकको मुडे भन्ने स्थानबाट छायाँकन शुरू गरिएको सो चलचित्रको ४० दिनका दिन आज शनिबार बालाजु स्थित विकास कम्पनीको ल्याबमा इण्डक्ल्याप गरियो ।
सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण गरिएको सो चलचित्रको अधिकांश भागको छायाँकन काठमाण्डौमा नै गरिएको छ । सबिर श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा आर्यन सिक्देल, दिप्ती गिरी, शिशिर राणा, दिनेश डिसी, दिनेश थापा, संदिप सापकोटा लगायतले चलचित्रमा अभिनय गरेका छन् । यस चलचित्रबाट नायिकाको रूपमा दिप्ती गिरीले डेब्यू गरेकी हुन् ।
रेड-4 क्यामेराले छायाँकन गरिएको सो चलचित्रमा शिब ढकालको छायाँकन, समन अधिकारीको नृत्य, दिनेश सुनामको संगीत, प्रमोद ढुंगानाको गीत रहेको छ भने चलचित्रको कथा शिबम् अधिकारीले लेखेका हुन् । चलचित्रलाई छिट्टै नै दर्शक माझ ल्याउने तयारी भईरहेको बताउँदै निर्माता चौलागाईंले चलचित्रको सम्पादन कार्य पनि तिब्र रूपमा भईरहेको बताएकी छिन् । महाराजगंज स्थित रेड स्टुडियोमा चलचित्रको सम्पादन कार्य भईरहेको उनको भनाई छ ।